एक साताभित्रै ओली नेतृत्वको सरकार : रावल

राजधानी समाचारदाता / काठमाडौं

एमाले उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा रावलले ओली–प्रचण्ड ‘वान–टु–वान’ भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको संकेत  गरेका हुन् ।

‘गत १७ असोजमा वाम गठबन्धन घोषणा गरेकै दिन हामीले सातबुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तर्निहित आशय थियो,’ उनले भने, ‘कसको नेतृत्व भन्ने कुरै हुँदैन, पार्टी एक भइसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ ।’

रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे भेटवार्तामा छलफल भएको विश्वास दिलाए । एक साताभित्रै एमाले अध्यक्ष ओली नेतृत्वमा नयाँ सरकार गठन हुने उनको दाबी छ ।

‘अबको प्रधानमन्त्री ओली नै बन्नुहुन्छ, यो पनि भन्ने विषय हो र ? जनताले त्यही भन्छन्, जनमतले त्यही भनेको छ, पत्रपत्रिकाले त्यही भनेको छ, देश र जनताले भनिसक्यो त,’ उनले भने । कुन नेतालाई कुन बेला, कुन जिम्मेवारी दिने भन्ने समयले निर्धारण गर्ने र दुवै पार्टी एक भएकाले आलोपालो भन्न नहुने धारणा उनले व्यक्त गरे ।

एकता प्रक्रियाको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको उल्लेख गर्दै रावलले एकताले ठोस रूप लिनेबित्तिकै कार्यदलमार्फत सबै बाहिर ल्याउने बताए । ‘सरकार गठन र एकता सँगसँगै अघि बढाउँछौं, एकअर्काका संवेदनशीलतालाई बुझेर अघि बढ्छौं,’ उनले भने, ‘एकताबारे अब कुनै शंका वा भ्रम पाल्नुपर्ने जरुरी छैन ।’ एकताबारे अहिलेसम्म विभिन्न पाँच चरणका प्रक्रिया पूरा भइसकेको उनले सुनाए ।

‘अहिलेसम्म हामीले एकताबारे पाँच चरणमा छलफल गरिसकेका छौं, अब नेतृत्व र नीतिमा गहन ढंगले छलफल चलिरहेको छ,’ उनले भने, ‘एकताको विभिन्न चरण पार भइसकेको छ ।’

रावलले राष्ट्रपति, उपराष्ट्रपतिलगायत महŒवपूर्ण पदमा सहमतिकै आधारमा ‘कुन नेतालाई कुन जिम्मेवारी दिने ?’ भन्नेबारे निर्णय लिइने पनि जानकारी दिए । ‘यो भागबन्डा गर्ने कुरा होइन,’ उनले भने, ‘नेतालाई जिम्मेवारी दिने कुरा हो ।’ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ‘कामचलाउ भएकाले उसले गरेका कतिपय निर्णय पुनरावलोकन गर्ने उनको भनाइ थियो ।

‘यो कामचलाउ सरकारले आफ्नो अन्तिम घडीसम्म राज्यको ढुकुटी रित्याउने खेलमा लाग्नुभएको छ, राष्ट्रिय सभामा तीन जना सिफारिस गर्ने सवालमा स्वयं कांग्रेसकै नेतालाई थाहा रहेनछ,’ उनले भने, ‘हामीसँग त झनै परामर्श गरेन, राष्ट्रिय सभाको जुन उद्देश्य थियो, त्यसअनुसार भएन, सभाको उद्देश्यविपरीत नाम सिफारिस भएको छ, यो गलत हो, यसमा हामीलाई धेरै दुःख लागेको छ ।’

वर्तमान सरकारले गरेका कतिपय गलत निर्णय पुनरावलोकन र निर्वाचन आचारसंहित भए खारेज गर्ने चेतावनीसमेत उनले दिए । ‘निर्वाचन आचारसंहिताविपरीत गरिएका निर्णय पुनरावलोकन र अनुपयुक्त निर्णय खारेज गरिन्छ,’ उनले भने, ‘प्रदेशसभा प्रमुखबारे पनि त्यसको औचित्यका आधारमा पुनरावलोकन गरिनेछ ।’

नेता रावलले भूकम्पपीडितका लागि १ लाख थप्ने सरकारको निर्णय पनि गलत ढंगले गरेको आरोप लगाए । आफूले यसबारे सरकारका मन्त्रीलाई नै सोधेको उनको भनाइ थियो ।

‘कुन आधारमा ? स्रोत के हो भनेर मैले सोधेको थिएँ तर कुनै स्पष्ट धारणा आएन,’ उनले भने, ‘वाम गठबन्धनको मुख्य उद्देश्य भनेको अब मुलुक र जनताको समृद्धि भएकाले त्यसकै लागि हामी केन्द्रित हुनेछौं ।’