अपहरणमा संलग्न पाँच पक्राउ , ६ भारतीय नागरिकको उद्धार

राजधानी संवाददाता / मोरङ

अपहरणमा परेका भारतीय नागरिकलाई मोरङ प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरणमा परेका उनीहरूलाई मोरङको सुन्दरहरैचा नगरपालिकास्थित एक होटलबाट उद्धार गरेको हो । भारतीय अपहरणकारीसँंग साँठगाँठ गरी ६ जना भारतीय नागरिकलाई अपहरण गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी इनरुवा नगरपालिका–३ का ५७ वर्षीय नारायण साह र मधुकर साह, मोरङ सुन्दरहरैचा– १ का ३८ वर्षीय टिकाराम चौधरी र ३७ वर्षीय कान्छा भन्ने ठाकुर गुरुङ र सुन्दर हरैचाकै वडा नम्बर १२ बस्ने २४ वर्षीय नवराज गौतम रहेका छन् ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसिले फिरौती असुल्ने उद्देश्यका साथ अपहरण गरेको प्रारम्भिक बयानमा खुलेको बताए । भारतीय अपहरणकारीसँग मिलेर नेपालतर्फका अपहरणकारीले भारत विहार खगडिया जिल्लाका ६ जना भारतीय नागरिकलाई अपहरण गरी मोरङको सुन्दर हरैचा १० स्थित मोनालिसा होटलमा ल्याएर राखेका थिए ।

त्यसपछि उनीहरूले सुन्दरहरैचा ९ स्थित नारायण साहको घरमा स्थान्तरण गरेको प्रहरीले जनाएको छ । माघ २४ गते भारतीय अपहरणकारीले ६ जनालाई नेपालमा ल्याई यहाँका अपहरणमा संलग्नहरूको जिम्मा लगाई फर्किएका थिए । अपहरणमा परेकाहरूलाई बन्धक बनाएर प्रतिव्यक्ति भारतीय १÷१ लाख रुपैयाँको दरले फिरौती माग गरेको पीडितहरूले बताएका छन् ।

बन्धक बनाइएका मध्ये दुई जना बालेश्वर रजक र रंजित कुमारले १ लाखको दरले अपहरणकारीलाई रकम बुझाएको समेत प्रहरीले जनाएको छ । अपहरण गरेर राखिएको अवस्थामा आफूहरूलाई शारीरीक र मानसिक यातना दिइएको पीडित अजयकुमार साहले बताए ।

बन्धक बनाइएका मध्ये राजकिशोर साह अपहरणकारीको पञ्जाबाट उम्केर भाग्न सफल भएपछि अपहरणको रहस्य खुलेको थियो । अपहरणको जानकारी पाएको केही घण्टाभित्रै मोरङ प्रहरीले छापा मारेर उनीहरूको उद्धार गरेको हो । प्रहरी उपरीक्षक बीसीले भने, ‘खबर पाएको केही घण्टाभित्रै नारायण साहको घरबाट पीडितहरूलाई मुक्त गराउन र अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भयौं ।’

प्रहरीले अभियुक्तहरूसँगै अपहरणकारीले प्रयोग गरेको को १४ प ५२४४ नम्बरको मोटरसाइकल, भारतीय रुपैयाँ ५० हजार र ५ थान मोबाइलसमेत बरामद गरेको छ ।