आयुर्वेद क्लिनिकको नाममा ठगी गर्ने पक्राउ

उदयपुर / रास– उदयपुर त्रियुगा नगरपालिका–३ मोतीगडामा सञ्चालन भएको आयुष आयुर्वेद क्लिनिकका सञ्चालक र चिकित्सक पक्राउ परेका छन् । सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उजुरीका आधारमा क्लिनिकमा प्रहरीले छापामारी सञ्चालक बाबुराम कार्की र डाक्टर सुजित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । ‘छापाको क्रममा प्रहरीले डाक्टरको टेबलबाटै चुरोट, कन्डम, विभिन्न शंकास्पद औषधि फेला पारेको छ,’ एसपी भट्टले भने, ‘क्लिनिकसँगैको रेस्टरुममा समेत चुरोटका ठुटा, कन्डम, विभिन्न औषधिका खोल बरामद भएको छ ।

फिस्टुला, पायल्स, हाइड्रोसिलको ग्यारेन्टी उपचार गरिने दाबी गर्ने क्लिनिकमा रौतामाई गाउँपालिकाकी एक महिलाले पायल्सको उपचार गराएकी थिइन् । तर घाउ झन् बढ्दै गएपछि सम्झौताअनुसार पैसा फिर्ता माग्दा उल्टै हप्कीदप्की गरेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार क्लिनिकले यथेष्ट सामग्रीबिना अप्रेसन गर्दै आएको भेटिएको छ ।