सभामुखमा थापा निर्वाचित उपसभामुखको निर्वाचन ६ फागुनमा

राजधानी संवाददाता / धनगढी

प्रदेश नम्बर ७ को सभामुखमा नेकपा एमाले बझाङ ‘क’ बाट निर्वाचित प्रदेश सांसद अर्जुनबहादुर थापा अनुमोदन भएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकले थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरी सभामुखमा अनुमोदन गरेको हो ।

नेपाली कांग्रेसकी समानुपातिक सांसद तथा प्रदेशसभा ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बसेको बैठकले सभामुखमा थापाको मात्रै उम्मेदवारी परेपछि उनलाई सर्वसम्मत रूपमा सभामुख भएको घोषणा गरेको हो ।

बैठकमा अध्यक्षता गरेकी ज्येष्ठ सांसद शाहले सभामुखमा थापाको मात्रै उम्मेदवारी परेकाले उनी अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम थापा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।

बैठकमा एमालेका सांसद दीर्घ सोडारीले थापालाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने प्रस्तावमा माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले समर्थन जनाएका थिए ।

प्रदेशसभाको अर्को संसद् बैठक ६ फागुन आइतबार १ बजे बस्ने र सोही दिन उपसभामुख चयन गरिने प्रदेश सभा संसद् सचिवालयका सचिव मुरारी महतले जानकारी दिए ।

नवनिर्वाचित सभामुख थापाले सोमबार नै प्रदेश प्रमुख माहेनराज मल्लबाट शपथग्रहण गरी आफ्नो कार्यभार ग्रहण गरिसकेको सचिव महतले बताए ।

यस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टी गरी चारवटा दल भए पनि माओवादीको समर्थनमा थापाले उम्मेदवारी दिएका थिए । कांग्रेस र राष्ट्रिय जनता पार्टीले भने उम्मेदवारी दिएको थिएन । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सांसद छन् ।

को हुन् थापा ?

बझाङको ‘क’ निर्वाचन क्षेत्रबाट निर्वाचित ६२ वर्षीय थापा शिक्षण पेसा छोडेर राजनीतिमा लागेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक उत्तीर्ण गरेका छन् । उनी एमाले बझाङका पूर्वअध्यक्ष पनि हुन् ।

२०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा २०५६ को आमचुनावमा प्रतिनिधिसभा सदस्यमा बझाङ क्षेत्र नम्बर १ बाट थोरै मतले पराजित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक थापा २०५६ सालसम्म शिक्षण पेसामा सम्बद्ध व्यक्ति हुन् ।

भूगोल र अर्थशास्त्र विषयमा स्नातक गरेका थापाले बझाङको खप्तड मावि, लामातोला मावि र दुर्गाभवानी माविमा २६ वर्ष अध्यापन गराएका हुन् । उनले ‘विश्व कम्युनिस्ट आन्दोलनको एक झलक’ (विश्व– नेपाल–बझाङ) र ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलीय जनवाद’ पुस्तक पनि प्रकाशित गरिसकेका छन् ।

पार्टीभन्दा माथि उठेर काम गर्न प्रतिबद्ध छु :  थापा

सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरागर्दै थापाले अभिभावकको भूमिकामा रहेर ७ नम्बर प्रदेशको विकासका लागि आवश्यक पर्ने नीति तथा नियम बनाउने बताए ।

यसअघि पनि विभिन्न तहमा नेतृत्व गरेको भन्दै थापाले पाएको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता गरे, ‘सभामुखजस्तो पदको गरिमामा रहेर सत्ता पक्ष र प्रतिपक्षसँग समन्वय गरी बस्नेछु’ उनले भने, ‘त्यसका लागि गम्भीर भएर लाग्नेछु ।’ उनले प्रदेशका लागि आवश्यक पर्ने कानुन निर्माणलाई विशेष ध्यान दिने उनको भनाइ छ । सभामुख पदको गरिमा अझ उच्च बनाउने बताए । उनले संसद्ले आफूलाई सर्वसम्मत सभामुख बनाएको सन्र्दभलाई गम्भीर रूपमा लिएको धारणा व्यक्त गरे ।