प्रदेश ६ को सभामुखमा शाही निर्वाचित

दीपक बुढा / सुर्खेत

प्रदेश ६ को सभामुखमा प्रदेश सांसद राजबहादुर शाही निर्विरोध चयन भएका छन् । सोमबार बसेको प्रदेशसभाको दोस्रो बैठकबाट दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित एमालेका सांसद राबहादुर शाही निर्विरोध चयन भएका हुन् ।

बैठकमा प्रदेशसभा सदस्य तथा एमाले नेता प्रकाश ज्वालाले प्रस्ताव राखेका थिए । ज्वालाले राखेको प्रस्तावलाई माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए ।

सांसद ज्वालाको प्रस्ताव र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको समर्थनपछि अर्को उम्मेदवारी नपरेकाले सभामुख निर्विरोध चयन भएका हुन् ।

शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले सोमबार दिउँसो ४ बजे शपथग्रहण गराएका छन् । शपथलगत्तै सभामुख शाहीले सोमबार नै पदभार ग्रहण गरेको संसद सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।

को हुन् शाही ?

पञ्चायतको विरुद्धमा चर्कोे नारा लगाएको आरोपमा सात दिन जेल जीवन बिताएका राजबहादुर शाही २९ मंसिर २०२६ मा साबिकको तोलीजैसी गाविस वडा नम्बर ७ मा जन्मिएका हुन् ।

उनको जन्मगाउँ हालको ठाँटीकाँध गाउँपालिका वडा नम्बर ६ हो । शााहीको बाल्यकाल गाउँमै बित्यो । सभामुख शाही दैलेख निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट निर्वाचित सांसद हुन् ।

शाहीले कक्षा ८ सम्म गाउँकै कालिका निम्न माध्यमिक (हालको मावि) विद्यालय तोलीजैसीमा अध्ययन गरे । त्यसपछि त्रिभुवन मावि दैलेखबाट माध्यामिक शिक्षा हासिल गरे । शाहीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट आइकम पास गरे ।

विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका शाही सालीन र जनताका लोकप्रिय नेताका रूपमा चिनिन्छन् । २०३९ सालमा नेपाली विद्यार्थी हित समितिबाट राजनीतिमा होमिएका हुन् । शाही मजदुर किसान पार्टी निकट नेपाल मजदुर विद्यार्थी संघ आबद्ध हुँदै नेपाल मजदुर किसान पार्टीमा संगठित भए । मजदुर पार्टी दैलेखको २०४५ सालमा पार्टीको इलाका कमिटीमा काम गर्ने जिम्मेवारी बहन गरे ।

२०४६–२०४८ सालसम्म शाहीले नेपालगन्ज बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको तर्फबाट सभापति भएर तीन वर्ष काम गर्ने जिम्मेवारी पाएका थिए ।

शाही २०४८ सालमा नेपाल मजदुर किसान पार्टीको जिल्ला सम्मेलनबाट सदस्यमा निर्वाचित भई पार्टीको जिल्ला नेतृत्वमा पुगे । १० साउन २०५२ सालमा मजदुर किसान पार्टी र नेकपा एमालेबीच पार्टी एकीकरण भयो । एकीकरण भएपछि २०५२ सालमा शाहीले नेकपा एमालेको विभागीय सदस्य भएर काम गरे ।

सरकारले २०५४ सालमा स्थानीय निकायको निर्वाचन ग¥यो । आइकम पास भएका शाहीले ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भई तोलीजैसी गाविसमा समाज सेवा गर्ने जिम्मेवार बहन गरे ।

लगत्तै उनी गाविस राष्ट्रिय महासंघको जिल्ला अध्यक्षसमेत बने । २०६९ सम्म नेता शाही एमालेको जिल्ला कमिटी सदस्य भए ।

२०६९ सालदेखि एमालेको नवौं महाधिवेशनसम्म उनी एमालेको अञ्चल समन्वय कमिटिको सदस्य बने । र अहिले आइपुग्दा उनी पार्टीको कुनै पनि जिम्मेवारीमा थिएनन् । उनका आमा–बाबुको इच्छा थियो– ‘छोरो समाजसेवी बनोस् ।’ सभामुख शाही आमाको प्रेरणाबाट राजनीतिकमा होमिएका थिए ।