प्रदेश ५ मा बिहीबार मन्त्रीहरूको शपथ , माओवादीले पूर्ण घर्तीलाई सभामुख बनाउने

विनोद परियार / रूपन्देही

प्रदेश ५ ले आगामी ३ फागुनमा सानो आकारको मन्त्रिमण्डल पाउने भएको छ । बहुमत रहेको नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठनका लागि प्रदेश प्रमुखलाई पत्र दिएपछि आगामी ३ फागुनमा सरकार गठन हुने भएको हो ।

मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटि सदस्यसमेत रहेका संसदीय दलका नेता शंकर पोखरेल पक्का भएका छन् । यसैगरी एमालेका बैजनाथ चौधरी (नवलपरासी ) नेकपा माओवादी केन्द्रबाट कृष्णध्वध खड्का (प्युठान) मन्त्री बन्ने चर्चा छ ।  माओवादीले खड्काको नाम टुंग्याइसकेको छ भने एमालेले चौधरीलाई मन्त्री बनाउने पक्काजस्तै छ । तीन मन्त्रीले ३ फागुनमा शपथसँगै पदभार ग्रहण गर्ने तयारी छ । प्रदेशमा सात मन्त्रालय मात्र रहनेछन् र तत्कालका लागि सानो आकारको मन्त्रिमण्डल बन्नेछ ।सडक विभागको प्रदेश प्रमुखको निवास अगाडि ३ फागुनमा  बिहीबार शपथ हुनेछ ।

माओवादी केन्द्रका पूर्ण घर्ती सभामुख बन्ने प्रदेशसभा ५ को सभामुखमा माओवादी केन्द्रका नेता रुकुमका पूर्ण घर्ती बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रले घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको हो ।

सोमबार अबेर सम्पन्न माओवादी प्रदेश संसदीय दलको बैठकले पूर्ण घर्तीलाई सभामुख, संसदीयदलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, प्रमुख सचेतकमा रूपन्देहीका दधिराम न्यौपाने (एमएस) र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको थियो । माओवादीले यसअघि नै रोल्पाका कुलप्रसाद केसीलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।  यसअघि सभामुखमा गुल्मीका युवा नेतासमेत रहेका सुदर्शन बराल र घर्तीको नाम चर्चामा आए पनि दलले घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको हो । संसदीय बोर्डमा माओवादीले तुलाराम घर्ती मगरलाई चयन गरेको छ । संसदीयदलको नेता र उपनेतालाई मन्त्रिपरिषद्मा पठाउने व्यक्ति छनोट गर्ने जिम्मा दिइएकोसमेत प्रमुख सचेतक दधिराम न्यौपाने (एमएस) ले जानकारी दिए ।