अन्तर्राष्ट्रिय लोक संस्कृति मेलामा ११ देश

राजधानी समाचारदाता / काठमाडौं

नवौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४ आगामी १७ देखि २६ फागुनसम्म नेपालमा आयोजना गरिने आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपले जानकारी गराएको छ ।

राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै सो संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले यसपटकको मेलामा विभिन्न ११ देशका कलाकारहरू सहभागी हुने जानकारी गराएका छन् ।

उनका अनुसार मेलामा यसपटक इस्टोनिया, ग्रिस, इन्डोनेसिया, बंगलादेश, भारत, मलेसिया, कोस्टारिका, इटाली, इजरायल, टर्की र नेपालले आफ्ना देशका विभिन्न लोक संस्कृति प्रस्तुत गर्ने भएका छन् । यी ११ मुलुकका विभिन्न सांस्कृतिक समूहका ३ सयभन्दा बढी कलाकारले मेलामा भाग लिएर आफ्ना लोक नृत्य एवं लोक गायन प्रस्तुत गर्ने पनि अध्यक्ष कोइरालाले जानकारी गराए ।

‘नेपालजस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृति छन् । नेपालका लोक संस्कृतिबारे बाह्य देशका संस्कृतिकर्मीलाई जानकारी गराउँदै उनीहरूको संस्कृति पनि एकैथलोमा प्रदर्शनसँगै आदानप्रदानका लागि विगत नौ वर्षदेखि यो मेला आयोजना गरिँदै आएको हो,’ अध्यक्ष रामचन्द्र कोइरालाले भने ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो सांस्कृतिक मेलाले नेपालको पर्यटन विकासमा पनि टेवा पु¥याउने अध्यक्ष कोइरालाले बताए । उनका अनुसार यो मेला हरेक दुई वर्षमा आयोजना गरिँदै आएको छ ।

यसपटकको मेला काठमाडौं, ललितपुर, नवलपरासीको गैंडाकोट, पोखरामा आयोजना गरिने भएको छ । काठमाडौंको हनुमानढोका क्षेत्रसँगै पाटन दरबार क्षेत्रमा पनि यो मेला आयोजना गरिने र त्यहाँ ११ देशका कलाकारले प्रत्यक्ष रूपमा आफ्नो देशको विभिन्न लोक संस्कृति प्रस्तुत गर्ने पनि कोइरालाले जानकारी गराए । त्यसो त विदेशबाट आएका कलाकारले काठमाडौ आसपासका विद्यालयमा गई आफ्ना लोक नृत्य एवं लोक संस्कृति प्रस्तुत गर्ने र विद्यालयका विद्यार्थीको समेत सांस्कृतिक कार्यक्रम हेरेर नेपाली संस्कृति जान्ने कार्यक्रम रहेको पनि उनले बताए ।