‘फान अवार्ड’ २४ विधामा प्रदान गरिँदै

राजधानी समाचारदाता / काठमाडौं

नेपाल चलचित्र कलाकार संघले २०७३ सालमा रिलिज भएका चलचित्रको प्रतिस्पर्धामूलक ‘फान अवार्ड २०७३’ गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा संघका अध्यक्ष रामकेशर बोगटीले फान अवार्डको दोस्रो संस्करण तयारी पूरा गरेको बताए ।

दोस्रोपटक आयोजना गर्न लागेको ‘फान अवार्ड’ आगामी १६ चैतमा आयोजना हुने पनि अध्यक्ष बोगटीले बताए । उनका अनुसार यसपटक फान अवार्ड विभिन्न २४ विधामा प्रदान गरिने भएको छ । कि एड्भरटाइजिङ एजेन्सीको व्यावसायिक सहकार्यमा यो अवार्ड आर्मी अफिसर्स क्लबमा हुने पनि अध्यक्ष बोगटीले बताए ।

यसपटक प्रदान गरिने विभिन्न २४ विधामा दिइँदै छ । फान अवार्ड उत्कृष्ट अभिनेत्री, अभिनेता, चलचित्र र निर्देशकको विधामा प्रधान गरिने भएको छ । यस्तै, उत्कृष्ट कथा, पटकथा, संवाद, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, छायाकार र उत्कृष्ट नवनिर्देशक विधामा पनि फान अवार्ड प्रदान गरिँदै छ ।

 यस्तै, उत्कृष्ट चरित्र अभिनेता, चरित्र अभिनेत्री, नवअभिनेत्री, नवअभिनेता, सहअभिनेत्री,  सहअभिनेता, खलपात्रका साथै उत्कृष्ट हास्य कलाकारको विधामा पनि ‘फान अवार्ड’ प्रदान गरिने अध्यक्ष बोगटीले बताए । अवार्डलाई भव्यसँग आयोजना गर्न संघका तर्फबाट विभिन्न समिति पनि गठन गरिएको अध्यक्ष बोगटीले बताए । विगतका अवार्डको कमी कमजोरीलाई सुधारेर यसपटक अझ उत्कृष्ट बनाउने पनि अध्यक्ष बोगटीले दाबी गरे ।

‘कि एडभरटाइजिङ’को नवनिर्वाचित कार्यसमितिलाई कलाकार संघले सोमबार सम्पन्न ‘फान अवार्ड’को घोषणासभामा सम्मानसमेत गरेको थियो ।