चित्रकलामा सिन्धुलीका सम्पदा

राजधानी समाचारदाता / काठमाडौँ

 काठमाडौंबाट सिन्धुलीको दुम्जा पुगेका पाँच चित्रकारले पाँचदिने ‘सुनकोसी सम्पदा कला साहित्य यात्रा २०७४’ त्यहाँका सम्पदा र सुन्दरतालाई चित्रमा उतारेका छन् ।

धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित सो कला यात्रामा २४ कलाकृति तयार पारेर ती कृतिलाई शीतलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएको छ ।

जागरण कवि धरणीधर कोइरालाको १२६औं जन्मजयन्तीका अवसरमा आयोजित सो सम्पदा कला यात्रा कुशेश्वर दुम्जाबाट सुरु भएको थियो । २४ माघबाट सुरु कला यात्रा सोमबार सकिएको छ ।

कला यात्रामा सहभागी पाँच कलाकार सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, अनिल खड्का तथा मूर्तिकार राजेन्द्र देशारले जिल्लास्थित सुनकोसी गाउँपालिकाका धार्मिक, सांस्कृतिक, पुराताŒिवक महŒवका पाटी, पौवा, मठ, मन्दिर, मानेका साथै पुराना बजार, बस्ती र प्राकृतिक सम्पदालाई क्यानभासमा उतारेका छन् ।

ती कलालाई सोमबार गरिएको प्रदर्शनीलाई विद्यार्थी, शिक्षक, शिक्षिका, जनप्रतिनिधि तथा स्थानीयवासीले रुचिपूर्वक अवलोकन गरेका कार्यक्रम संयोजक दीपक श्रेष्ठले जानकारी गराए ।

सो अवसरमा सुनकोसी गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिना, विद्यालयका प्रधानाध्यापक शंकर उप्रेती र समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले सम्पदा कला यात्राले सम्पदा संरक्षणमा जागरण ल्याउने विश्वास व्यक्त गरे । यसरी कला यात्रा आयोजना गरेर कुशेश्वर दुम्जा, बालुवाटारस्थित देवीस्थान माध्यमिक विद्यालयमा धरणीधर कोइरालाको १२६औं जन्मजयन्ती मनाइएको छ ।