श्वेता अभिनयमै फर्किनेमा ‘कान्छी’ निर्णायक

विजय नेपाल  / पोखरा

कोहिनुरपछि नेपाली फिल्ममा कमब्याक गरेकी नायिका श्वेता खड्का अभिनित फिल्म ‘कान्छी’ यही ४ फागुनदेखि अल नेपाल रिलिज हुँदै छ । नायिका श्वेताले यो फिल्मपछि आफू अभिनयमै फर्किने वा नफर्किने भन्नेबारे यकिन हुने बताएकी छन् ।  सोमबार पोखरामा उनले भनिन्, ‘मलाई थाहा छ, दर्शकले मलाई रुचाउनुहुन्छ तर फिल्म प्रदर्शनको अवस्थापछि म फिल्मको अन्य भूमिकामा रहे पनि अभिनयमै फर्किने वा नफर्किने यकिन त्यत्तिबेला हुनेछ ।’

आकाश अधिकारी निर्देशिक यो फिल्मका निर्माता स्वयं श्वेता खड्का र शैलेन्द्र खड्का हुन् । हिमालपारिको जिल्ला मुस्ताङको लेते, जोमसोम तथा काठमाडौंमा छायांकन गरिएको यो फिल्म ग्रामीण भेगमा कान्छीको कथा बुनिएर बनाइएको निर्माण पक्षले जनाएको छ । जसमा श्वेतालाई कान्छीको भूमिका देख्न सकिन्छ भने दयाहाङ राई नायकको भूमिमा छन् ।

चलचित्र पत्रकार संघ पोखराले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्वेताले भनिन्, ‘फिल्म रोमान्टिक छ, नेपालीपन भएको फिल्म हो, अपेक्षा गर्छु दर्शकले रुचाइदिनुहुनेछ, फिल्ममा मैले कान्छीको रूपमा जन्म लिएकी छु ।’

पत्रकार सम्मेलनमा नायिका श्वेताले पति वियोगका बेला आफू मन बहलाउन पर्यटकीय नगरी पोखरामा आउने गरेको पनि खुलाइन् । श्रीकृष्णको साढे तीन वर्षअघि भएको अकस्मात निधनले श्वेता कोहिनुरपछि फिल्ममा आएकी थिइनन् ।

कार्यक्रममा नायक दयाहाङले फिल्मलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे । चलचित्रमा आफूले विगतको भन्दा फरक काम गरेको पनि उनले बताए ।

कान्छीमा नीर शाह, अशान्त शर्मा, अनु शाह, प्रज्वलसुजल गिरी, कामेश्वर चौरसिया, भूमिका श्रेष्ठ, जयनन्द लामा, विनोद न्यौपानेको भूमिका छ । शम्भूजित बाँस्कोटा, राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रमा वसन्त श्रेष्ठको नृत्य तथा वनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।