उत्तर कोरियाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

प्योङयाङ / एजेन्सी– उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियाबाट स्वदेश फर्किएको छ । प्योङचाङ शीतकालीन ओलम्पिक प्रतियोगिता २०१८ को उद्घाटन समारोहमा सहभागी हुन आएको टोली उच्चस्तरीय भेटघाट गरेर फर्किएको हो ।

उत्तर कोरियाको संसद्का प्रमुख तथा देशको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपतिसमेत मानिने किम योङ नामको नेतृत्वमा उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया आएको थियो ।

प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी तथा सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको प्रथम उपनिर्देशक किम यो जोङ पनि सहभागी थिइन् ।

उनीहरू दुई जनासहितको चार सदस्यीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई उनकै कार्यालय ब्लु हाउसमा भेटवार्ता गरेको थियो । भेटवार्ताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणापत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गरेकी थिइन् ।

उत्तर कोरियाली प्रतिनिधिमण्डलमा सदस्यसमेत रहेकी जोङले हस्तान्तरण गरेको पत्रमा दुई कोरियाको सम्बन्ध सुधार्न चाहेको उल्लेख गरिएको राष्ट्रपति मुनका प्रवक्ता किम इउइ कीओनले जानकारी दिएका छन् । सर्वोच्च नेता किमले जति सक्दो चाँडो राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले सो अवसरमा जानकारी गराएकी थिइन् ।