रुसी विमान दुर्घटनाको छानबिन सुरु , सयौं रुसी अनुसन्धानकर्ता हिउ“ले ढाकिएको क्षेत्रमा

मस्को / एजेन्सी– रुसमा आइतबार ७१ जनाको मृत्यु हुने गरी भएको विमान दुर्घटनाको अनुसन्धानका लागि सयौं रुसी अनुसन्धानकर्ताहरू मस्कोनजिकै दुर्घटनास्थलमा पुगेका छन् ।

अनुसन्धानकर्ताले यात्रुवहाज जेट विमान दुर्घटना भएको हिउँले ढाकिएको क्षेत्रमा पुगेर विमानका भग्नावशेषको खोजी र अनुसन्धान सुरु गरेका छन् । मस्कोस्थित डोमोडेदोभो विमानस्थलबाट आइतबार उडेको केही मिनेटमा नै विमान दुर्घटनामा परेको थियो ।

सारातोभ एयरलाइन्सको सो विमान दुर्घटनामा परी ६५ जना यात्रु र ६ जना चालक दलका सदस्यको मृत्यु भएपछि सो घटनाबारे अनुसन्धान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिएका थिए ।

विमान दुर्घटना के कारणले भएको हो भन्ने पत्ता नलागे पनि खराब मौसम, मानवीय त्रुटि या प्राविधिक समस्याका कारणले विमान दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । आतंकवादी आक्रमणबाट विमान दुर्घटनामा परेको विषयलाई भने अधिकारीहरूले अस्वीकार गरेका छन् ।

रसियाली अनुसन्धान समितिले विमान दुर्घटनामा परेका समयमा आगो नलागेको तथा विस्फोटसमेत नभएको बताएको छ । यसअघि केही प्रत्यक्षदर्शीले विमानमा आगो लागेको बताएका थिए ।

रुसमा सन् २०१६ पछि पहिलोपटक यात्रुवहाक विमान दुर्घटना भएको हो । सारोतोभ एयरलाइन्सको एन्टोनोभ एन–१४९्८ विमान मस्कोबाट करिब ८० किलोमिटर टाढा दुर्घटना भएको थियो ।

यो विमान दुर्घटना भएको स्थानमा हिउँले ढाकेका कारण त्यसको खोजीका लागि ७ सयभन्दा बढी सहभागी रहेका छन् । रुसी स्वास्थ्यमन्त्रीले यो दुर्घटनामा परेका सबैको शव फेला पार्न कम्तीमा पनि एक साता लाग्ने अनुमान गरिएको बताएका छन् । सो स्थानबाट शरीरका करिब २ सय टुक्रा फेला पारिसकिएको पनि उनको भनाइ छ ।

आपत्कालीन मन्त्रालयले डीएनए परीक्षणका लागि नमुना संकलन गरिरहेको जनाएको छ । मन्त्रालयले दुर्घटनामा परेको विमानमा यात्रारत सबै यात्रु र चालक दलका सदस्यको नामावलीसमेत प्रकाशन गरेको छ ।