वाइनस्टिन कम्पनीविरुद्ध मुद्दा , यौन शोषण हुँदा कर्मचारीलाई सुरक्षा दिन विफल भएको आरोप

एजेन्सी / न्युयोर्क

अमेरिकाको न्युयोर्कका अभियोजनकर्ताले वाइनस्टिनको कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । कर्मचारीलाई चलचित्र निर्माता हार्भे वाइनस्टिनबाट जोगाउन नसकेको आरोप लगाउँदै उनको कम्पनीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

हलिउड चलचित्र निर्माता हार्भी वाइनस्टिनविरुद्ध यौन दुव्र्यवहारको अभियोग लागेको छ । फिल्म निर्माता वाइनस्टिन यतिबेला दर्जानौं यौन दुव्र्यवहार तथा बलात्कारको मुद्दाको सामना गरिरहेका छन् । उनीविरुद्ध ७० जना भन्दा बढी महिलाले बलात्कारसहित यौन दुव्र्यवहारको आरोप लगाएका छन् । उनले भने सहमतिबिना यौन सम्बन्ध राखेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले यौन दुव्र्यवहारका साथै महिला कर्मचारीलाई सो विषय सार्वजनिक गरेमा ज्यान मार्ने धम्की दिने गरेको मुद्दामा दाबी गरिएको छ ।

न्युयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानले वाइनस्टिन कम्पनीले कर्मचारीहरूलाई शोषण र नराम्रो व्यवहार गरेको पाइएको जनाएका छन् । तर त्यसबारे परेका उजुरीविरुद्ध भने कारबाही चलाउन कम्पनी विफल भएको जनाइएको छ ।

महान्यायाधिवक्ता स्नाइडरम्यानले वाइनस्टिन कम्पनी बिक्रीको प्रस्तावको टुंगो लागेपछि पीडितहरूले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । कम्पनीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

वाइनस्टिनका वकिल बेन ब्राफम्यानले भने आफ्ना सेवाग्राहीको कम्पनीमा भेदभाव भएको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । वाइनस्टिनको व्यवहार बिना गल्तीको नभए पनि उनले कुनै अपराध पनि नगरेको बताएका छन् । ब्राफम्यानले निष्पक्ष अनुसन्धानले वाइनस्टिनमाथि लागेका थुप्रै अभियोगहरू बिनाआधारका भएको प्रमाणित हुने दाबी गरे ।

कम्पनीको बोर्ड अफ डाइरेक्टर्सले यो मुद्दा लाग्नु निराशानक विषय भएको टिप्पणी गरेका छन् । बोर्डले भनेको छ, ‘बोर्डसँग सम्बन्धित केही आरोपहरू गलत रहेका छन् र बोर्ड यथासम्भव यो कठिन स्थितिलाई हल गर्नका लागि आफ्ना प्रतिबद्धताअनुसार तथ्य बाहिर ल्याउन प्रतिबद्ध र उत्सुक छ ।’

गत वर्षको अक्टोबरमा पनि न्युयोर्कका अभियोजनकर्ताले यौन दुव्र्यवहार भएको हुन सक्ने भन्दै हार्भे वाइनस्टिनले स्थापना गरेको ‘वाइनस्टिन कम्पनी’माथि अनुसन्धान गरेको थियो । चलचित्र क्षेत्रका बादशाह मानिने वाइनस्टिनले एक दशकअघि कम्पनी स्थापना गरेका हुन् ।

कैयौं महिलाले यौन आक्रमण दव्र्यवहारको आरोप लगाएपछि सन् २०१७ को अक्टोबर महिनाको सुरुतिर उनलाई कम्पनीको बोर्डबाट हटाइएको थियो ।

सन् २०१८ को सुरुमा हलिउड अभिनेत्री उमा थरमनले पनि सन् १९९० को दशकमा चलचित्र निर्देशक हार्भी वाइनस्टिनले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । अमेरिकी सञ्चारमाध्यमसँग बोल्दै अभिनेत्री उमा थरमनले सन् १९९४ मा ‘पल्प फिक्सन’ चलचित्र सार्वजनिक भएपछि लन्डनको एउटा होटलमा वाइनस्टिनले आफूमाथि दुव्र्यवहार गरेको बताएकी छन् ।