केन्यामाथि नेपाल ३ विकेटले विजयी , विश्वकप छनोट खेल्ने आशा जीवितै

राजधानी समाचारदाता / काठमाडौं

नेपाल आईसीसी विश्वकप क्रिकेट छनोटनजिक पुगेको छ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को आफ्नो चौथो खेलमा केन्यालाई ३ विकेटले पराजित गरेसँगै नेपालले अर्काे वर्ष जिम्बावेमा हुने विश्वकप छनोट खेलको नजिक पुगेको हो ।

नामिबियामा नेपालको यो चौथो खेलमा तेस्रो जित हो । तेस्रो जितसँगै नेपाल समूहको दोस्रो स्थानमा यथावत् छ । डिभिजन–२ का शीर्ष २ टोलीले विश्वकप छनोट खेल्न पाउनेछ । नेपालले अब अन्तिम खेलमा क्यानडासँग बुधबार प्रतिस्पर्धा गर्र्दै छ । यस खेलमा जित हात पारे नेपाल विश्वकपका लागि छनोट हुनेछ भने पराजित भएको खण्डमा अन्य खेलको नतिजा कुर्नुपर्नेछ । नामिबिया विन्डहोकस्थित क्रिकेट मैदानमा केन्याले दिएको १७८ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बसन्त रेग्मीले २ रन लिँदै नेपाललाई जित दिलाए । खराब सुरुवात गरेको नेपालका इनिङ्स मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख र रोहितकुमार पौडेलले सम्हाले उनीहरूले छैटौं विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालाई जिततर्फ डो¥याएका थिए । रोहितले ४७ रन बनाए । उनी अर्धशतक बनाउनबाट ३ रनले चुके । आरिफ शेख ४२ रनमा आउट भए । त्यसअघि कप्तान पारस खड्का र शरद भेषवाकरले चौथो विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । ओपनर अनिल कुमार शाह पहिलो बलमै गोल्डेन डकाउट भए । अर्का ओपनर ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भए । कप्तान पारस खड्का ४२ रनमा आउट भए । शरद भेषवाकर १९ रनमा आउट भए । सोमपाल कामी ३ तथा बसन्त रेग्मी २ रनमा नटआउट रहे ।

केन्याका इमान्युल बन्डी रिङ्गेराले ३ विकेट लिए । एनएन आडिहयाम्मो, नेल्सन ओडिहयाम्मो र सेम नोग्चेले समान १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले ८ विकेट गुमाएर १७७ रनको योगफल तयार पारेको थियो । केन्याका इर्फान करिम बसन्त रेग्मीको बलमा आउट हुनुअघि ४२ रन बनाए । केन्याका लागि एलेक्स ओबान्डाले ४१ रन बनाए । केन्याका कोलिन्स ओबुयाले २७, नेल्सन ओधियाम्बोले २४ र शम गोचेले २३ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने एकलैले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका सन्दीपले आफ्नो १० ओभरमा ५ मेडन ओभर राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् । बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषवाकरले समान १–१ विकेट लिए । केन्याविरुद्ध ५ विकेट लिएसँगै सन्दीप प्रतियोगितामा सर्वाधिक विकट लिने खेलाडीको अग्रस्थानमा छन् । उनको विकेट संख्या १४ पुगेको छ ।