निक्षेपमा ब्याज नबढाउने सहमति

काठमाडौं / रास– बजारमा तरलता (लगानीयोग्य पुँजी) अभावको कारण निक्षेप तानातान गरेका बैंकले पुनः निक्षेपमा ब्याज नबढाउने सहमति गरेका छन् । बैंकहरूले ११ प्रतिशतभन्दा बढी ब्याज नदिने गरी सोमबार पुनः सहमति गरेका हुन् । कुनै बैंक तथा बैंकलाई अप्ठ्यारो अवस्थामा राहत होस् भन्ने उद्देश्यले सो सहमति गरिएको हो ।

बजारमा पैसा अभाव हुँदा सबै बैंकले समान रूपले निक्षेप पाउनुपर्छ भन्ने सहमतिको मूल उद्देश्य रहेको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । उनले भने, ‘११ प्रतिशतभन्दा माथि ब्याजदर नलिने भन्ने सहमति भएको हो ।’ यो संघको आन्तरिक सहमति भएको अध्यक्ष ढुंगानाको भनाइ छ ।

निक्षेपको ब्याजदर अकासिँदा कर्जाको ब्याजदर झनै बढ्ने भन्दै बजारको सन्तुलन मिलाउन सहमति गरेको अध्यक्ष ढुंगानाले राजधानीलाई बताए ।