एडीबीको १० अर्ब ऋण सहयोग

काठमाडौं / रास— एसियाली विकास बैंकले नेपालको ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब रुपैयाँ ऋण सहयोग प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे ।

सो परियोजनाअन्तर्गत मुलुकका विभिन्न १६ जिल्लाका ३८८ किलोमिटर ग्रामीण सडक बाह्रै महिना सञ्चालन योग्य बनाइनेछ । परियोजनाबाट ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार हुनेछ भने व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर हुने बताइएको छ ।

सहयोगसम्बन्धी हस्ताक्षरपछि देशीय निर्देशक खामुदाख्नोभले नेपालको ग्रामीण भेगलाई यातायात सञ्जालबाट जोड्न ऋण सहयोग प्रदान गरिएको बताउँदै परियोजना पूरा भएपछि सबै याममा सडक सञ्चालन हुने विश्वास व्यक्त गरे ।