ओभर ड्राफ्ट कर्जामा सीमा तोकियो

काठमाडौं / रास— बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट शीर्षकमा प्रवाह गर्ने कर्जामा नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । अब सञ्चालनमा रहेका बैंकले कुल कर्जाको १५ प्रतिशतसम्म मात्रै ओभरड्राफ्टमा लगानी गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले यसअघि चालू आर्थिक वर्षको मौद्रिक नीतिमा ओभरड्राफ्टबारे छुट्टै कार्यविधि बनाउने घोषणा गरेपछि कार्यविधिमै ओभर ड्राफ्टतर्फको लगानीमा सीमा तोकेको हो ।

मौद्रिक नीतिको लक्ष्यअनुसार कर्जा लगानी विस्तार भइरहेको तथा बैंकले सीसीडी रेसियो सीमाभित्रै राख्न सक्षम भएकाले गत वर्ष जस्तो सीसीडी रेसियोमा ‘रिल्याक्सेसन’ नदिइने भएको हो ।

बैंकले सीसीडी रेसियोको सीमा बढाएर ८५ प्रतिशत पु¥याउन राष्ट्र बैंकसँग पटक पटक आग्रह गरिरहेका छन् । ओभरड्राफ्टमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले ३ खर्ब ७५ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यतिबेला बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह २१ अर्ब ४३ अर्ब रुपैयाँ छ । ओभरड्राफ्टतर्फको कर्जा १७ दशमलव ५१ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्टको नाममा अन्य क्षेत्रमा कर्जा लगानी भइरहेको आशंका गर्दै ओभरड्राफ्टतर्फको लगानीलाई कडाइ गरिएको हो ।