रेमिट्यान्स घट्दो क्रममा

काठमाडौं / रास– चालू आर्थिक वर्षको ६ महिने अवधिमा रेमिट्यान्स रेमिट्यान्स (विप्रेषण) आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको छ । यस अवधिमा ३ खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ७, चालू आर्थिक वर्षका ५ महिनामा विप्रेषण शून्य दशमलव ८ प्रतिशतले कमी आएको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू घटेकाले रेमिट्यान्समा कमी आएको राष्ट्र बैंकको भनाइ छ । यस अवधिमा वैदेशिक रोजगारीमा जाने कमदारको संख्यामा १ दशमलव ८ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९ दशमलव ९ प्रतिशतले कमी आएको थियो । अघिल्लो वर्षको ६ महिनामा १ अर्ब ८ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ७५ अर्ब ७१ करोडले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको ६ महिनामा ४५ अर्बले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ६ अर्ब ६६ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखााएको छ ।

त्यसैगरी, यो अवधिमा पुँजीगत ट्रान्सफर १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १४ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९३ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ३९ करोड रहेको थियो । २०७३ पुसमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव २ प्रतिशत रहेकोमा २०७४ पुसमा ४ प्रतिशत कायम भएको छ । त्यसैगरी, खाद्य मुद्रास्फीति २ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति शून्य दशमलव ७ प्रतिशतले ऋणात्मक रहेको थियो ।

गत वर्षको तुलनामा यस समूहअन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अन्डा, फलफूल, घिउ तथा तेल, खाद्य तथा खाद्यजन्य पदार्थ, मासु तथा माछालगायतका वस्तुहरूको मूल्यमा वृद्धि भएको कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । त्यसैगरी, गैरखाद्य मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ६ दशमलव २ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, स्वास्थ्य, शिक्षालगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकाले गैरखाद्य मुद्रास्फीति कम रहेको छ ।