५ खर्ब आयात, ४१ अर्ब निर्यात

राजधानी समाचारदाता / काठमाडौं

चालू आर्थिक वर्षको ६ महिने अवधिमा मुलुकको आयात व्यापार ५ खर्ब ३४ अर्ब ५७ करोड ८६ लाख ८८ हजार रुपैयाँको भएको छ । तर, निर्यात व्यापार भने ४१ अर्ब १६ करोड ४१ लाख ३७ हजार रुपैयाँमा खुम्चिएको छ । मुलुकको व्यापार घाटा कम गर्न सरकारले विभिन्न योजना अघि सारे पनि मुलुकको व्यापार घाटा गत वर्षको तुलनामा बढेको तथ्यांकले देखाएको छ । मुलुकमा हुने वैदेशिक व्यापार असुन्तलन हुँदा मुलुकको व्यापार घाटा बढेको हो ।

व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार मुलुकबाट अन्य देशमा हुने निर्यात अर्बमा र मुलुकमा हुने आयात खर्बमा हुने गरेको छ । केन्द्रका अनुसार ६ महिने अवधिमा मुलुकको निर्यात अर्ब र मुलुकमा हुने आयात खर्बमा रहेको देखिएको हो । ६ महिनामा ४१ अर्ब सामान निर्यात भएको गत वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ६ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकबाट निर्यात हुने वस्तु कुल ३६ अर्ब ५५ करोड ९९ लाख १९ हजार रुपैयाँबराबरको निर्यात भएको थियो । नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुहरू रेडिमेड कपडा, कार्पेट, अदुवा, चिया, चाउचाउ, अलैंची आदि रहेका छन् । गत आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँबराबरको कर्पोट निर्यात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २८ करोड ७१ लाख ६८ हजार रुपैयाँको निर्यात भएको छ । त्यस्तै, तयारी पोसाकको निर्यातमा भने गत आर्थिक वर्षको तुलनामा ११ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा कुल २ अर्ब ७७ करोड ५ लाख ८५ हजार रुपैयाँको निर्यात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा भने कुल ३ अर्ब ८ करोड ५६ लाख १५ हजार रुपैयाँको तयारी पोसाक निर्यात भएको छ । त्यस्तै, अलैंचीको निर्यातमा ५४ प्रतिशतले वृद्धि भएको केन्द्रको तथ्यांकले देखाएको छ । समग्रमा गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा १२ दशमलव ६ प्रतिशतले नेपालको निर्यात व्यापारमा वृद्धि भएको तथ्यांकमा उल्लेख गरिएको छ । यो अवधिमा ५ खर्ब ३४ अर्बको आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा साढे १४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ४ खर्ब ६६ अर्ब ४३ करोड ४३ लाख ६८ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा भने कुल ५ खर्ब नाघेको हो ।

नेपालमा पेट्रोलिय पदार्थ, फलाम तथा फलामे छडहरू, गाडी तथा गाडीका पार्टपुर्जाहरू, खाद्यान्न लगायतका वस्त निर्यात हुन्छन् । त्यस्तै, नेपालमा मोबाइल फोनको आयातसमेत गत वर्षको तुलनामा केही वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १२ अर्ब ३९ करोड रुपैयाँबराबरको मोबाइल फोन आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अधिकृति विनोदशरण आचार्यले मोबाइल फोन अत्यावश्यक वस्तु भइसकेका कारण मोबाइल फोनको आयातमा सरकारले भन्सार छुट दिएको बताउँदै १२ अर्ब बढीको मोबाइल फोन आयात भएको बताए ।