विश्वलाई एकसूत्रमा बाँध्ने पर्व शिवरात्रि

विश्वलाई एकसूत्रमा बाँध्ने पर्व शिवरात्रि

ब्रह्माकुमारी राजदिदी

आज हामी २१औं शताब्दीको शिशुकाल तथा विज्ञानको विद्युतीय प्रगतिको युगमा अनेक भौतिक सुख, सुविधाको आनन्द लिइरहेका छौं, तथापि जुन आन्तरिक सुखहरूको अन्तरआत्माले अनुभव गर्न चाहन्छ, त्यसलाई भने प्राप्त गर्न सक्षम हुन सकिरहेका छैनौं । आज मानव जीवनमा व्यक्तिगत खुसी, आनन्द, उमंग, सफलता एवं व्यावसायिक उन्नति आदिसँग सम्बन्धित अवसरहरू अत्यन्तै कम मात्रामा बाँकी छन् । साथै सार्वजनिक, सामाजिक वा संगठित रूपमा खुसीको आदान–प्रदान, स्नेह, सद्भावलाई सुदृढ गरेर अलौकिक आनन्दबाट अनुभूत हुने अवसर त नगण्य हुँदै गइरहेका छन् भन्नमा विमति नहोला । यसै कारणले मानव एकांकी परिवार, व्यावसायिक दायराभित्र खुम्चिएर तनाव, चिन्ता तथा नकारात्मक विचारहरूसँग संघर्ष गर्दै जीवनको बोझबाट लादिएको असहज यात्रा तय गर्न बाध्य छ । उत्सवहरू वास्तवमा मानवको जीवनमा एउटा नयाँ स्फूर्ति, जिज्ञासा ताजापन, उमंग, उत्साह तथा अतिन्द्रीय सुखका छिट्टाहरू छर्नका लागि आरम्भ भएका थिए । त्यतिबेला मानवमा श्रद्धा, प्रेम, सद्भावना पनि थियो । अब बिस्तारै बिस्तारै श्रद्धा र प्रेम समाप्त भएर केवल परम्पराको रीतिरिवाज मात्रै बाँकी छ । अब तिनीहरूको लोकप्रियता, मौलिकता, सरोकार तथा उमंग–उत्साह प्रायः समाप्त हुँदै गइरहेको छ । यसको मूल कारण हो, ती उत्सवहरूको वास्तविक आध्यात्मिक रहस्य र तिनीहरूबाट हुने प्राप्तिबारे अनभिज्ञ रहनु । शिवरात्रि पनि यस्तै एउटा पर्व बनेको छ ।

पहाडको उच्च चुचुरादेखि लिएर सागरसम्म कुनै पनि यस्तो ठाउँ छैन, जहाँ परमात्मा शिवको प्रतिमा वा मूर्ति स्थापना नगरिएको होस् । सायदै कुनै यस्तो धर्मग्रन्थ छैन, जसमा परमात्मा शिवको महिमा नगरिएको होस् । तर पनि परमात्मा शिवको सही परिचय, अवतरणको बेला तथा उहाँको कर्तव्यको बारेमा मानिस अनभिज्ञ नै छ । मानिस यस सत्यलाई यथार्थ रूपले जान्दछ कि परमात्मा शिव को हुनुहुन्छ ? कहिले र कसरी प्रकट हुनुहुन्छ, के गर्नु हुन्छ ? त्यस अवस्थामा सबै मानिस परमात्मा शिवमा आफ्नो सबैै कुरा समर्पण नगरी रहन सक्दैनन् होला । सही अर्थमा शिवरात्रिको रहस्य बुझ्न सकेमा यस पर्वबाट पूरै विश्वलाई एकताको सूत्रमा आबद्ध गर्न सकिन्छ । शिवरात्रि त्यस समयको यादगार हो, जब संसारमा चारैतिर अज्ञान–अन्धकार छाइरहेको थियो, भाइभाइ खुनका प्यासी थिए, स्त्रीहरूको लाज सुरक्षित थिएन । त्यस बखत मानवता पीडाले तड्पिरहेको थियो । कतै सुरक्षा थिएन । त्यस समयमा नै ब्रह्मालोकबाट एक ज्योतिको अवतरण भएको थियो र उहाँको प्रकाशले सम्पूर्ण जगत झलमल्ल भएको थियो तथा उहाँबाट प्रदत्त ज्ञानले समग्र मानव समाज नानाथरिका दःुख, कष्टबाट मुक्त भएको थियो । त्यस ज्योतिको नाम नै परमात्मा शिव हो । शिवको अर्थ नै हो कल्याणकारी । अरू सबै मानिसका नाम शरीरमाथि आधारित हुनाको कारण विनाशी हुन्छन् । शरीर परिवर्तनसँगै नाम पनि परिवर्तन हुन्छन् तर परमात्मा अशरीरी हुनुहुन्छ र जन्म मरणको चक्रमा आउनु हुन्न । त्यसैले, उहाँको मूर्तिलाई ज्योतिर्लिंग मठ भन्ने गरिन्छ । नेपालको प्रसिद्ध पशुपतिनाथको मन्दिर पनि परमात्मा शिवको मुख्य मठमध्येको एक मानिन्छ ।

पूर्वीय इतिहास, धार्मिक ग्रन्थ तथा सारा नेपाल भारतमा धेरै ठाउँमा शिवका मूर्तिहरू पाइन्छन् । नेपालमा पशुपतिनाथ, भारतमा अमरनाथ, केदारनाथ, विश्वनाथ, संगमेश्वर, भीमामेश्वर, सोमनाथ, रामेश्वर आदि शिवकै यादगार प्रतिमाका मन्दिर हुन् । यस प्रकारले ठाउँठाउँमा शिवको मान्यताको रूप ज्योतिबिन्दुको नै यादगार बनाइएको छ । यी मन्दिरले मानवबीच भावनात्मक एकता ल्याउँछन् तथा यो संसार शिव परमात्माको नै सुन्दर रचना हो भन्ने चेतना जागृत गराउँछन् । न केवल हिन्दूधर्मका मानिसहरू परमात्मा शिवलाई सम्मान गर्छन् अपितु अन्य धर्ममा विश्वास राख्नेले पनि शिव परमात्मालाई निकै श्रद्धाले मान्छन् । उदाहरणका लागि रोममा इसाई धर्मका क्याथोलिकहरू गोल आकार भएको ढुंगालाई अहिले पनि पूजा गर्छन् । अरबमा मक्काको तीर्थस्थलमा मुस्लिम यात्री पनि यस्तै प्रकारको ढुंगा जसलाई संग–ए–असवद वा मक्केश्वर भन्छन् र त्यसलाई चुम्बन गर्छन् । जापानमा बसोबास गर्ने बुद्ध धर्ममा अनुयायीहरू जब साधना गर्न बस्छन् अगाडिपट्टि शिवलिंग जस्तै ढुंगा तीन फिट उचाइको बनाएर त्यसमा ध्यान लगाउने गर्छन् । यसका अतिरिक्त मिश्रमा ओसिरिस, बेबोलानमा सिअन नामबाट शिवको पूजा हुने गर्छ । त्यैसगरी, सिरिया, युनान, स्पेन, जर्मनी, अमेरिका, मेक्सिको, सुमात्रा एवं जावा द्वीप आदि विभिन्न स्थान र देशमा पनि शिवको यादगार पाइन्छ । यति मात्रै नभएर स्कटल्यान्डको प्रसिद्ध नगर ग्लासगो, तुर्की स्थान, ताशकंद, वेस्टइन्डिज, ग्याना, लंका, स्यामा, मौरिसस आदि ठाउँमा पनि शिवलिंगको पूजा हुन्छ । त्यसैगरी, सिख धर्मपिता गुरुनानक देवले उहाँलाई एकाेंकार नामले पुकार्नुभएको छ । यसबाट स्पष्ट हुन्छ कि परमपिता शिव परमात्मा कुनै एक धर्म विशेषको मात्रै पूजनीय नभएर विश्वभरिका सवै मानव आत्माका परमपूज्य पिता हुनुहुन्छ ।

परमात्मा शिव अजन्मा, अभोक्ता र ब्रह्मालोक निवासी हुनुहुन्छ । त्यसैले, भनिन्छ कि उहाँ मानव वा अन्य प्राणीजस्तै जन्म लिनु हुन्न जसबाट कर्मको बन्धनमा परियोस् । बरु धर्मग्लानीको समयमा, जबकि सबै मानव आत्माहरू पाँच विकारहरूको वशका कारण दुःखी, अशान्त, पतित तथा भ्रष्टचारी बन्न पुग्छन्, तिनीहरूलाई पुनः पवित्र बनाउनका लागि यस साकार सृष्टिमा एक साधारण वृद्ध शरीरमा प्रवेश अथवा अवतरित हुनुहुन्छ, जसलाई नै उहाँको दिव्य अलौकिक जन्म भनिन्छ । परमात्मा शिवको यही दिव्य अवतरणको दिव्य स्मृतिलाई नै शिवरात्रि अथवा शिवजयन्ती पर्वका रूपमा मनाउने गरिन्छ । त्यो केवल १०, १२ घण्टाको रात्रि होइन, बरु अज्ञानता, पापाचार र अनेक प्रकारका खराबीको प्रतीक हो । शिवरात्रि फागुन महिनामा हुनु कल्पान्तको सूचक हो र १४आंै रात घोर अन्धकारको निशानी हो । शिवरात्रिको दिन भक्तहरू शिवलिंगमा धतुरो, बेल, बेलपत्र आदि चढाउँछन् तथा रात्रि जागरण तथा व्रत राख्छन् । धतुरो विकारहरूको, वैर नफरतको, बेलपत्र गलत आचरण वा व्यवसनको प्रतीक हुन् । जसलाई नै वास्तवमा शिव परमात्मामाथि चढाउनुपर्छ । साथै आत्माको ज्योति जगाउने जागरण तथा पवित्र रहने व्रत लिनुपर्छ । शिवरात्रि सबै धर्मको महान् पर्व हो तथा शिवमन्दिर सबै धर्मका पिता परमात्माको यादगार तीर्थस्थल हो । शिवको स्मृति नै वास्तवमा सुमन्त्र अथवा तारकमन्त्र हो, जसबाट नै जीवनमा प्राप्ति र सिद्धि उपलब्ध गर्न सकिन्छ ।
आज पुनः त्यही बेला र दशा छ, त्यही रात्रि छ जहाँ मानव समाज पतनको चरम सीमामा पुगेको छ । यस्तो बेला धेरै महŒवपूर्ण जानकारी तथा सन्देश सुनाउन पाउँदा हर्षको अनुभव भइरहेको छ कि अहिले कलियुगको अन्त्य र सत्ययुुगको आरम्भको संगमयुगमा स्वयम्भू परमात्मा शिव मनुष्य आत्माको निभेको आत्माको ज्योति जगाउनका लागि प्रजापिता ब्रह्माको मानवीय कायामा अवतरित भइसक्नुभएको छ । साथै ईश्वरीय ज्ञान र राजयोगको शिक्षा दिएर विकार, विकृति र अनेक प्रकारका खराबीहरूबाट मुक्त गरी दैवी राज्यको स्थापना गरिरहनुभएको छ । त्यसैले, प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा सम्पूर्ण विश्वका १४० राष्ट्रमा आफ्ना ९ हजारभन्दा बढी सेवा केन्द्रद्वारा महाशिवरात्रि पर्वलाई निक्कै धुमधामसँग विविध कार्यक्रम गरी मनाउँदै छ । सबैलाई ईश्वरीय जन्मसिद्ध अधिकार प्राप्त गर्न हार्दिक आमन्त्रण छ । हामी सबै परमपिता परमात्माको यस दिव्य जन्मका अवसरमा विकारहरू, कुुलत र दुव्र्यसनहरू तथा आपसी मतभेदलाई त्याग गरी विश्वशान्ति, सद्भाव, नैतिक र आध्यात्मिक मूल्यबाट चरित्रको उत्थान गर्ने प्रतिज्ञाका रूपमा यस पर्वलाई मनाऔं, जसबाट मानवजगत् सुख, शान्ति, सम्पन्न बन्न सकोस् ।