एफएम रेडियोमा महिला सहभागिता

एफएम रेडियोमा महिला सहभागिता

दीपक आचार्य

दिनदिनै विभिन्न दिवसको समाचार प्रसारण गर्ने रेडियोहरू आज आफ्नै दिवस मनाइरहेका छन् । अर्थात् आज १३ फेब्रुअरी ‘विश्व रेडियो दिवस’ । सात वर्षदेखि १३ फेबु्रअरीलाई ‘विश्व रेडियो दिवस’ का रूपमा मनाउन थालेका नेपालका रेडियोले १ फागुनमा परेको दिवसका अवसरमा यसपालि विभिन्न कार्यक्रम गरिरहेका छन् । देशभरिका ४६० रेडियो एफएममा कार्यरत ७ हजार रेडियोकर्मीले मात्रै होइनन्, रेडियो रुचाउने स्रोताहरूले पनि रेडियो दिवसलाई आफ्नै दिवसका रूपमा मनाउँदै छन् ।
नेपालमा एफएम रेडियोको विकासले पत्रकारितामा महिला सहभागिता बढाएको छ । समग्र आर्थिक, सांस्कृतिक, राजनीतिक तथा प्रशासनिक अवस्थाको कारणले गर्दा सञ्चार क्षेत्रमा महिलाको संलग्नता २००७ सालसम्म नगन्य थियो । २००८ सालमा साधना प्रधान र कामाक्षादेवीको सम्पादकत्वमा ‘महिला’ पत्रिका प्रकाशित हुन थालेपछि नै नेपाली पत्रकारितामा महिला संलग्नताको औपचारिक इतिहास सुरु भएको हो ।

देशमा २०४६ को राजनीतिक परिवर्तन र यसले सिर्जना गरेको खुला वातावरणले सिंगो सञ्चार क्षेत्रमा विकासको ढोका खोलिदियो भने २०६२÷६३ मा भएकोे राजनीतिक परिवर्तनले त झन् छापा र विद्युतीय सञ्चार क्षेत्रमा विकासको बाढी नै आयो र नयाँनयाँ सञ्चार संस्थाको स्थापना हुँदै जानु कुनै आश्चर्यको कुरा रहेन । जसले गर्दा महिला यस क्षेत्रमा पहिलेभन्दा बढी संख्यामा संलग्न हुने अवसर प्राप्त भयो । तर दुःखको कुरा, सञ्चार माध्यमको विकासको अनुपातमा त्यसमा संलग्न हुने महिलाको अनुपात भने निकै कम पाइन्छ । सञ्चार माध्यममा महिलाको सहभागितालाई विद्युतीय सञ्चारमाध्यमले विशेष गरेर जिल्ला जिल्लामा खुलेका एफएम रेडियोहरूले बढाएका छन् । महिलाहरूले मात्रै सञ्चालन गरेको रेडियोको संख्या सात पुगिसकेको छ । नेपालमा १३ असोज २०६४ देखि महिलाहरूले पूर्वाञ्चलमा पहिलो पटक एफएम सुरु गरे । दोस्रो महिलाले सञ्चालन गरेको रेडियो रूपन्देहीको बुटबलको ‘रेडियो मुक्ति’ हो । महिलाहरूको मात्रै सहभागितामा पर्वतमा पनि सामुदायिक रेडियो पर्वत र जुम्लामा रेडियो नारी आवाज राम्रोसँग सञ्चालन भइरहेको छ ।

त्यसैगरी, उदयपुर जिल्लामा पनि महिलाहरूकै लगानी र व्यवस्थापनमा रेडियो उदयपुर सञ्चालनमा रहेको छ । छाउपडीजस्ता हानीकारक परमपरागत प्रथा, बालविवाह, घरेलु हिंसा तथा दाइजो प्रथाविरुद्ध आवाज बुलन्द पार्ने सवालमा यस्ता रेडियोले महŒवपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।
अझै पनि नेपाली समाजको परम्परागत सोचाइले महिलाले घरबाहिर निक्लेर गर्ने काम त्यति सहज हुन सकेको छैन । अझ रेडियोमा काम गर्नेलाई त साँझ, बिहान र राति पनि काम गर्नुपर्ने भएकाले थप अप्ठेराहरू छन् । कामको सिलसिलामा कतिपय बेला पुरुष सहकर्मीसँग बिहानै वा राति अबेरसम्म सँगसँगै काम गर्नुपर्ने, हिँड्नुपर्ने बाध्यता हुने भए पनि यसलाई आफन्त तथा साथीहरूले गलत ढंगले बुझ्ने र प्रचार गर्ने गरेको अनुभव पनि केही महिलाहरूको छ । विवाहपूर्व परिवारबाट काम गर्ने सवालमा जति स्वतन्त्रता रहन्थ्यो, विवाहपश्चात् त्यस्तो नभएपछि धेरै महिलाहरूले काम छोडेको अनुभव धेरै रेडियोकर्मीसँग छ । विवाहपश्चात् घर, परिवारप्रतिको जिम्मेवारी र भविष्यप्रतिको चिन्ता अझ बढ्ने भएकाले भविष्यको सुनिश्तताका लागि पनि रेडियो छाडेर अन्य पेसा व्यवसाय रोजेका धेरै उदाहरणहरू छन् ।

अझै पनि नेपाली समाजमा परम्परागत सोचाइले गर्दा महिलाले घरबाहिर निक्लेर गर्ने काममा त्यति सहज हुन  सकेको छैन। अझ रेडियोमा काम गर्नेलाई त सा“झ, बिहान र राति पनि काम गर्नुपर्ने भएकाले थप अप्ठेराहरू छन्

नियमअनुरूप पारिश्रमिक वा सेवा सुविधा नपाउने वा पाए पनि समयमा नपाउने नेपालका सञ्चार क्षेत्रमा कार्यरत अधिकांश सञ्चारकर्मीको साझा समस्या हो । केहीलाई अपवादका रूपमा छाड्ने हो भने देशभरि सञ्चालित सामुदायिक रेडियोको अवस्था पनि त्यस्तै छ । त्यसैले, धेरै महिलाहरू यस पेसामा टिक्न गाह्रो छ । पत्रकार महिलाले यो पेसा छाड्नुको अर्काे कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूका आकर्षक पद र तलब सुविधा पनि हो । जिल्लामा केही वर्ष पत्रकारिता गरेका पत्रकार महिलालार्ई चाहिँ अन्तर्राष्ट्रिय संघ संस्थामा काम पाउनु त्यति गाह्रो छैन । अझ कतिपय संस्थाले त अनुभवी र दक्ष पत्रकार महिलाहरूलाई राम्रो पद, अन्तर्राष्ट्रियस्तरको तलब तथा सुविधा दिएर आकर्षित गर्ने गरेका छन् ।
रेडियो सञ्चालक वा रेडियोको निर्णायक तहमा महिलाहरूको संख्या भने औंलामा गन्न सकिने मात्रै छ । सामुदायिक रेडियोको नेतृत्वमा महिला सहभागिता बढ्न नसक्नुको कारण रेडियोमा पुरुषहरूको लगानी नै रहेको पाइन्छ । रेडियोहरूको ‘बोर्डमा महिलाको पनि सहभागिता गराउनैपर्छ’ भनेर एक दुई जना महिला राख्ने सुरुवात चाहिँ भएको देखिन्छ । लगानी महिलाको नभएकाले पुरुषकै निर्देशनमा रेडियो चलेको देखिन्छ । महिला तथा पिछडिएको वर्गलाई रेडियो कार्यक्रममा स्थान दिने काम धेरै सामुदायिक रेडियोले गरेका छन्, जुन कुरा मूलधारका सञ्चारमाध्यमले गर्न सकेका छैनन् ।

विश्वको पहिलो सामुदायिक रेडियो ‘भ्वाइस अफ द माइनर’ को स्थापनादेखि नै सामुदायिक रेडियो भनेको अल्पसंख्यक, विभेद्मा परेका र पछाडि पारिएको वर्गका लागि भन्ने अवधारणा अघि बढेकाले त्यसलाई आत्मसात गर्नुपर्छ भनेर सामुदायिक रेडियोकर्मीहरूले बताए पनि त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि खासै प्रयास भएको पाइँदैन । रेडियो व्यवस्थापनमा भएका पदाधिकारीलाई रेडियोको प्रसारण शुल्क कसरी जुटाउने र रेडियोलाई आर्थिक रूपमा कसरी बलियो बनाउने भन्ने नै चिन्ता बढी हुने भएकाले महिलालाई नेतृत्वमा पूरा हुने र महिला रेडियोकर्मीको क्षमता मजबुत बनाउनु पर्दछ भन्ने प्रयास भने हुन सकेको छैन । तीन÷चार वर्ष यता रेडियोमा पत्रकारहरूको संख्या पहिलेको भन्दा घट्दै गएकाले महिलाको संख्या पनि स्वतः घट्दै गएको देखिन्छ ।
समानुपातिक र समावेशिताको सिद्धान्तलाई संविधानले आत्मसात् गरेको सन्दर्भमा समाजलाई दिशानिर्देश गर्ने निकाय सञ्चार माध्यममा पनि यो सिद्धान्त लागू हुनुपर्छ । त्यसलाई नेपालका एफएम रेडियोले केही प्रयास गरेका छन् । अब रेडियोमा महिला नेतृत्व र पदीय जिम्मेवारीका हिसाबले महिला सञ्चारकर्मीलाई अगाडि बढाउनु आवश्यक छ । सामुदायिक रेडियो प्रसारक संघले संकलन गरेको तथ्यांकअनुसार समुदायिक रेडियो पत्रकारमध्ये ४३ दशमलव १ प्रतिशत मात्र महिला सञ्चारकर्मीको संख्या छ । यो छापा माध्यम र टेलिभिजनको तुलनामा राम्रो सहभागिता हो । रेडियोमा प्रवेश गर्ने महिलाको संख्या बढी हुनुको कारणले पनि समग्र महिला पत्रकारको संख्या बढ्ने बाटो खुलेकाले यसलाई राम्रो रूपमा लिइएको पाइएको छ । महिलाको क्षेत्रमा काम गर्ने दाताले सहयोग गर्ने अवधिसम्मका लागि महिला केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गर्ने र सहयोग रोकिएपछि कार्यक्रमलाई रेडियोको खर्चले धान्न सकेन भनेर बन्द गर्ने प्रचलन नेपालका सामुदायिक रेडियोमा रहेको पाइन्छ ।
सामुदायिक रेडियोहरूको साझा संगठन सामुदायिक रेडियो प्रसारक संघले लैंगिक तथा सामाजिक समावेशीकरण नीति नै बनाएर आफ्ना सदस्य रेडियोलाई पनि नीति बनाई कार्यान्वयनका लागि पहल गरे पनि त्यसलाई कमै रेडियोले मात्रै कार्यान्वयन गरेका छन् । रेडियोका स्टेसन मेनेजर, रेडियोकर्मी र समग्र महिला रेडियोको क्षमता विकास र नेतृत्व विकासका कामहरू अब हुनु जरुरी छ ।

(आचार्य सामुदायिक सूचना नेटवर्क सीआईएनका प्रमुख हुन्)