कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने

राजधानी समाचारदाता / काठमाडौं

कृषि विकास बैंकले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट साधारण सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर तथा १ दशमलव ५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकको सोमबार सम्पन्न ११औं साधारण सभाले सो निर्णय गरेको हो । त्यसैगरी, नेपाल सरकारको अग्राधिकार सेयरमा समेत तोकिएबमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको हो ।

सरकारको अग्राधिकार सेयर ५ अर्ब ४३ करोड २७ लाख १२ हजारलाई वार्षिक ६ प्रतिशतले हुने रकम ३२ करोड ५९ लाख ६२ हजार ७२० नगद लाभांश र साधारण सेयर चुक्ता पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजारका लागि २० प्रतिशत बोनस सेयरबापत १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार दिने निर्णय पनि पारित गरेको छ । यो निर्णयबाट देशका कुनाकाप्चामा रहेका करिब २ लाख ४८ हजार सेयरधनीहरू लाभान्वित भएका छन् ।

हाल बैंकको साधारण सेयर पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार र नेपाल सरकारको अविमोच्य अग्राधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार गरी चुक्ता पुँजी १२ अर्ब ५२ करोड ३ लाख ९२ हजार कायम रहेकोमा सोमबार पारित २० प्रतिशत बोनस सेयरले हुने रकम १ अर्ब ४१ करोड ७५ लाख ३६ हजारसमेत समावेश गर्दा बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार हुने भएको छ भने साधारण चुक्ता पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार पुग्नेछ ।

बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले साधारण सभामा बैंकको आर्थिक वर्ष २०७३ र ७४को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची र देशको आर्थिक तथा बैंकिङ क्षेत्रको अवस्था तथा चालू आर्थिक वर्ष २०७४ र ७५ को पुस मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । बैंकमा २०७४ साल पुस मसान्तसम्ममा निक्षेप रकम ९८ अर्ब १७ करोड ३४ लाख पुगेको छ भने लगानीमा रहिरहेको कर्जा ९७ अर्ब १५ करोड ४९ लाख रहेको छ ।

बैंकले २०७४ साल पुस मसान्तसम्ममा १ अर्ब २ करोड ९१ लाख नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४ दशमलव ६० रहेकोमा २०७४ साल पुसमा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३ दशमलव ९५ प्रतिशत कायम रहेको छ ।