द्रव्यपिशाचले सताएको समाज

द्रव्यपिशाचले सताएको समाज

रत्न प्रजापति

हिंसा र अपराधलाई पापका रूपमा लिने नेपाली समाजमा अहिले दिनप्रतिदिन हिंसा र अपराध बढिरहेको देखेर पाप कसलाई लाग्छ र के गर्दा लाग्छ भन्ने प्रश्न गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । हिंसा र अपराधका पछाडि आर्थिक अभीष्ट एउटा मुख्य कारण रहेको पाइन्छ । यही अभीष्ट पूरा गर्न हिंसा र अपराधमा उत्रने गरेको अभियुक्तहरूको बयान र अनुसन्धानबाट समेत खुल्ने गरेको छ ।
हरेक दिन कहीं न कहीं, कतै न कतै, कुनै न कुनै प्रकारका हिंसा र अपराध भएका समाचार सुन्नुपर्ने बाध्यता छ हामीलाई । धेरै प्रकारका हिंसामध्ये संख्याको हिसाबले भन्नुपर्दा समाजमा हुने धेरैजसो हिंसा महिलामाथि नै हुने गरेका छन् । महिलामाथि हुने घरेलु हिंसाका घटनाहरू त्यतिसारो समाचार बन्ने गरेको पाइँदैन । महिलामाथि हुने यौनहिंसा नै बढी समाचार बन्ने गरेको पाइन्छ । यौनइच्छा पूर्तिका लागि हुने यौनहिंसा स्वयं एउटा अपराध हो भने यही अपराधलाई माध्यम बनाएर आर्थिक अभीष्टले हुने अर्को अपराधले हिंसापीडितलाई त थप पीडा दिएकै छ, समाजलाई पनि आक्रान्त पारेको छ । यौनहिंसा पीडितलाई न्याय दिलाउन मद्दत गर्नुपर्ने निकायबाटै आर्थिक प्रलोभनका कारण थप अपराध हुन्छ भने अब आमजनताले शान्तिसुरक्षा र न्यायका लागि कसलाई गुहार्ने भन्ने प्रश्न उठ्न थालेको छ ।
पछिल्लो समय यस्तै यौनहिंसा र यौनहिंसाको घटनालाई आधार बनाएर थप अपराध गर्ने क्रम बढेको छ । यौनहिंसा र त्यसैलाई आधार बनाएर हुने अपराधको पछिल्लो उदाहरणका रूपमा दरबारमार्गको ल्यान्डमार्क होटेलमा भएको सामूहिक बलात्कारको घटनालाई लिन सकिन्छ । सामूहिक बलात्कारमा परेकी युवतीले प्रहरीचौकीमा पुगेर जाहेरी दिँदा जाहेरी लिन नमान्ने र आर्थिक प्रलोभन देखाएर घटनालाई गुपचुप मिलाउन खोज्ने प्रहरीले पीडकबाट आर्थिक लाभ लिएको प्रस्ट भइसकेको छ । पीडितलाई न्याय दिलाउन मद्दत गर्नुपर्ने शान्तिसुरक्षाको पहरेदारले नै द्रव्यमोहमा फसेर पीडितलाई थप पीडा दिन र पीडकलाई उन्मुक्ति दिन खोज्छ भने अब आमजनताले शान्तिसुरक्षा र न्यायका लागि गुहार्न कहाँ जाने ? एकाध यस्तै खराब प्रहरीका कारण सिंगो प्रहरी संगठनको बदनाम हुने गरेको छ ।

उता इटहरीमा पनि सामूहिक बलात्कारमा परेकी १४ वर्षीया बालिकाका परिवारलाई प्रहरीले नै धम्क्याएर मिलापत्र गराएको समाचार पनि सार्वजनिक भएको छ । प्रहरीले पीडकबाट आर्थिक लाभ नलिई जबर्जस्ती मिलापत्र गराउँदैन । पैसाकै लागि प्रहरीले यसरी एउटाको अपराध लुकाउन अर्को अपराध गर्ने प्रवृत्तिले गर्दा शान्तिसुरक्षाका पहरेदार प्रहरीमाथि आमनागरिकको विश्वास टुटेको छ । वास्तवमा बलात्कार गर्ने व्यक्ति अपराधी हो भने त्यो अपराधलाई लुकाउन सघाउने प्रहरी झन् ठूलो अपराधी हो । अपराध नियन्त्रणको जिम्मेवारी बोकेको प्रहरीले यसरी अपराधलाई लुकाउने र अपराधीलाई प्रोत्साहित गर्ने काम गर्न थालेपछि समाजमा शान्तिसुरक्षाको अनुभूति कसरी हुन्छ ? हुन त एउटै घटनालाई सामान्यीकरण गरेर हेर्नु हुँदैन र एउटाले गल्ती ग¥यो भन्दैमा सबैलाई एउटै नजरले हेर्नु पनि हुँदैन । तर एउटै घटना र एउटै गल्ती नै आलोचनाका लागि काफी हुने हुँदा सकेसम्म यस्तो घटना र यस्तो गल्ती हुँदै नहोस् भन्ने हाम्रो चाहना र अपेक्षा हो ।
केही समयअघि ललितपुरमा भएको सामूहिक बलात्कारका आरोपीहरूलाई जिल्ला अदालतले हतारहतार सामान्य तारिखमा रिहा गरेको विषयले पनि न्यायालयमाथि नै शंका उब्जाएको थियो । आर्थिक प्रलोभनबाट न्यायसम्पादनसमेत प्रभावित हुने परिपाटीले समाजमा निष्पक्ष न्यायको अपेक्षा गर्न समेत छोडिएको छ । न्याय महँगो भएको र पैसा खर्च गर्न सक्नेले मुद्दा जित्ने नजिर बस्न थालेकाले अन्यायमा परेका गरिबले जनताले न्यायालय जाने आँट गर्न पनि छोडिसकेको छ । न्यायमूर्तिहरूले निष्पक्ष न्याय दिन नसक्दा न्यायालयको गरिमासमेत घटेको छ । निरन्तर शंकाको घेरामा पर्दै आएको न्यायालयमाथि जनताको विश्वास टुट्ने काम निरन्तर हुँदै आएको छ । पीडितलाई सरासर अन्याय हुनेगरी भएका न्यायले नागरिकमा आक्रोश उत्पन्न गराउन थालेको छ । यसरी आक्रोश उत्पन्न गराउने काम बढ्दै गयो भने कुनै दिन न्यायालयमाथि नै त्यस्तो आक्रोश पोखिन सक्छ । यद्यपि ललितपुरको सामूहिक बलात्कार घटनाका आरोपीहरूलाई साधारण तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले बदर गरी आरोपीलाई तत्काल पक्राउ गर्न दिएको आदेशले जनमानसमा ‘अझै न्याय मरेको छैन है’ भन्ने आभास भने गराएको छ ।

पीडितलाई न्याय दिलाउन मद्दत गर्नुपर्ने शान्तिसुरक्षाको पहरेदारले नै द्रव्यमोहमा फसेर पीडितलाई थप पीडा दिन र पीडकलाई उन्मुक्ति दिन खोज्छ भने अब आमजनताले शान्तिसुरक्षा र न्यायका लागि गुहार्न कहा“ जाने

कतै पैसाको बलमा हिंसा र अपराधमा उत्रने गरेको पाइन्छ भने कतै पैसाकै लागि हिंसा र अपराधलाई गुपचुप पार्ने प्रयत्न गरेको पाइन्छ । आखिर यो पैसाको मात र पैसाको प्यासले मानिसलाई कतिसम्म गिराउन सक्ने रहेछ भन्ने प्रमाण हुन् हालैका सामूहिक बलात्कार घटनाका मुद्दाहरू । आखिर किन मानिस पैसाको पछाडि यसरी मरेर लागेका छन् ? पैसाकै लागि किन पीडितलाई नै अन्यायमा पारेर थप पीडा दिन तयार हुन्छन् ? कति चाहिन्छ, मानिसलाई पैसा वा सम्पत्ति ? बाँचुन्जेल खान लाउन पुगे पनि मानिस किन सन्तुष्ट हुन सक्दैनन् ? के गर्नु धेरै सम्पत्तिले ? पैसाको सान कति दिन टिक्छ ? असल कर्मले प्राप्त हुने इज्जत पो ठूलो हुन्छ । बाँचुन्जेल इज्जतले बाँच्न पाए त्यही ठूलो हो । मरेपछि त्यही एक माना चामल र एक मोहोर दाम त हो हामीले छातीमा राखेर लाने । विश्वविख्यात लेखक लियो टोल्स्टोयले आफ्नो कथा ‘हाउ मच ल्यान्ड डज अ म्यान निड ?’ शीर्षकको कथामा मानिसले मरेपछि पाउने भनेको त्यही ६ फुट जमिन हो भन्दै धनसम्पत्तिको मोह बेकार हो भन्ने सत्यलाई प्रस्ट पारेका छन् ।
सामूहिक बलात्कारको घटनामा प्रहरीले द्रव्यमोहमा परी गलत कार्यसम्पादन गरेको घटना त प्रतिनिधि घटना मात्रै हो । मुलुकका हरेक आर्थिक तथा सामाजिक क्षेत्रमा द्रव्यपिशाचहरूका कारण आर्थिक बेथिति बढेको छ । सरकारी ओहोदामा एउटै व्यक्तिले अर्बौंको भ्रष्टाचार गर्नु र त्यस्ता भ्रष्टाचारीबाट अदालतले १०र्औं अर्बबराबरको बिगो र जरिबाना असुल गर्नुपर्ने फैसला गर्नुले यो देशमा द्रव्यपिशाचहरूको मनोबल निकै बढेको देखिन्छ । जनताको बलिदानी र लामो संघर्षपछि आएको लोकतन्त्रलाई लुटतन्त्रका रूपमा उपयोग गर्न पल्केका द्रव्यपिशाचका कारण देशमा भ्रष्टाचार, दण्डहीनता र विधिविहीनता बढ्दै गएको छ । अनि यही दण्डहीनता र विधिविहीनताको फलस्वरूप देशमा द्रव्यपिशाचको मनोबल बढेको छ र जनतामाथिको खुलेआम शोषण थप बढेको छ । नेता र कर्मचारीको मिलेमतोले देशमा लोकतन्त्रलाई गिज्याउँदै लुटतन्त्रको वातावरण बनेको छ । यही लुटतन्त्रको वातावरणमा देशका नेता, कर्मचारी र व्यापारीले जनतालाई खुलेआम लुटिरहेका छन् । जनताले ठगिनु नपर्ने र लुटिनु नपर्ने कुनै ठाउँ छैन । अनि तिनै लुटेराका सामु जनता निरीह भएर बाँच्नुपर्ने अवस्था छ ।

जीवनमा पैसा धेरैथोक हो तर पैसा नै सबथोक भने होइन । तैपनि मानिसहरू पैसाकै लागि मरिमरि बाँच्न खोज्छन् । पैसाकै लागि सबथोक गर्न खोज्छन् । हुने नहुने, पापधर्म, इज्जतबेइज्जत, असलखराब सबथोक बिर्सेर पैसाको पछि लाग्छन् मानिस । घुस, कमिसन र भ्रष्टाचारको खेल सेवाप्रदायक कार्यालय, योजना र परियोजनामा मात्रै सीमित छैनन्, अस्पताल र मन्दिरसम्मै फैलिसकेको छ यस्तो घुस, कमिसन र भ्रष्टाचार गर्नेहरूको सञ्जाल । हुँदाहुँदा अब त मानिसले आफ्नो जिन्दगी बिसाउने आर्यघाटमा समेत कमिसनको खेलले छोडेन । जीवनको अन्तिम क्षणमा गरिने दाहसंस्कारमा समेत कमिसन खाने द्रव्यपिशाचले गर्दा मानिसको जीवन नै कष्टपूर्ण बन्न पुगेकोमा अब कुनै सन्देह बाँकी रहेन । यस्तै द्रव्यपिशाचका कारण बढ्दो छ सामाजिक अपराध । अनि यही सामाजिक अपराधले समाज आक्रान्त छ । तर अपराधीलाई आराम छ । अपराधीलाई बचाउन अर्को अपराध गर्ने महाअपराधीका कारण समाज थप आक्रान्त छ, हायलकायल छ । त्यसरी आक्रान्त र हायलकायल हुनुको परिणति हो भावनात्मक रूपमा बढ्दै गएको जनआक्रोश । यस्तो आक्रोशको अभिव्यक्ति विरोधका रूपमा आइरहेका छन् सडक र सामाजिक सञ्जालमा । विरोधले मात्रै केही नलागेर विध्वंशका रूपमा आयो भने त्यसले धेरै मानवीय तथा भौतिक क्षति गर्न सक्नेछ । त्यसैले, विधिको शासन अलाप्नेहरूले त्यही विधिको शासनका खातिर मन, वचन र कर्मले प्रतिबद्ध हुनैपर्ने खाँचो टड्कारो छ ।
पैसाको पछि लाग्ने द्रव्यपिशाचका कारण आम मानिसले अनेक बेथिति भोग्नुपरेको छ । अनेक पीडा सहनुपरेको छ । अनेक मानसिक यातना र तनाव भोग्नुपरेको छ । अनेक शारीरिक कष्ट भोग्नुपरेको छ । अनि जिन्दगीदेखि नै दिक्क मानेर जिउनुपरेको छ । तिनै द्रव्यपिशाचका कारण ठूल्ठूला घुस काण्डहरू भएका छन् । ठूल्ठूला कमिसनकाण्ड भएका छन् । ठूल्ठूला भ्रष्टाचारकाण्ड भएका छन् । समाचारमा आउने यस्ता ठूलठूला घुसकाण्ड, कमिसनकाण्ड र भ्रष्टाचारकाण्डबाहेक समाचारमा नआउने धेरै यस्तै घुस, कमिसन र भ्रष्टाचारका काण्डहरू छन्, जसबाट हाम्रो समाज पीडित छ र प्रताडित छ । यस्तै पीडा र प्रताडनाले समाज लामो समयसम्म उठ्नै नसक्नेगरी थला परेको छ । यस्तै बेथितिले देश आर्थिक र सामाजिक विकासमा पछौटे बनेको छ । उस्तै अवस्थाबाट गुज्रिएका अन्य देशहरूले आर्थिक तथा सामाजिक विकासमा ठूलो छलाङ मारेर विकसित देशको पंक्तिमा उभिइसक्दा पनि हाम्रो देश भने अझै विकासशील बन्ने सपनामै अल्झिरहेको छ । यी सबैको एउटै कारण हो देशका सानादेखि ठूला द्रव्यपिशाचहरू । देशलाई रित्याउने यिनै द्रव्यपिशाचहरूले गर्दा देश निरन्तर आर्थिक रूपमा परनिर्भर बन्दै गएको छ र यस्तो परनिर्भरता दिनप्रतिदिन बढिरहेको छ । यही परनिर्भरताले गर्दा हाम्रो स्वाभिमान सधैं कमजोर बनिरहेको छ । अनि हामीलाई वैदेशिक सहायता दिने निहुँमा दाताहरूले हाम्रो राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमाथि निरन्तर हस्तक्षेप गर्ने दुस्साहस गर्दै आएका छन् । अब यस्तो हुन नदिन पहिला हाम्रै द्रव्यपिशाचलाई ठेगान लगाउने कानुनको प्रभावकारी कार्यान्वयन जरुरी छ ।