प्रदेश २ सरकार सबै सांसद मन्त्रीका आकांक्षी

सुभाष साह / काठमाडौं

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्वमा बन्ने प्रदेश २ सरकारमा निर्वाचित सबै सांसदले मन्त्री दाबी गर्न सुरु गरेका छन् ।

राजपा नेपाल र फोरम नेपालले प्रदेश २ मा संयुक्त सरकार गठन गर्नेगरी मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीसहितका पदको बाँडफाँट गरिसकेका छन् ।

प्रदेश २ मा बन्ने सरकारको मुख्यमन्त्री फोरमको भागमा परेको छ । फोरमले मुख्यमन्त्रीमा पार्टी उपाध्यक्ष एवं संसदीय दलका नेता लालबाबु राउत गदीलाई अघि सारिसकेको छ । तर, आकांक्षी बढेपछि उपसभामुखसहित फोरमले पाएको तीन मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन ।

यता, सभामुख पाएको राजपाले सो पदका लागि सरोजकुमार यादवलाई अघि सारेको छ । यादवले मंगलबार सभामुख पदका लागि उम्मेदवारीसमेत दर्ता गराएका छन् । यादवबाहेक अरूले त्यहाँ उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित हुनेछन् ।

सभामुखसहित तीन मन्त्रालय पाएको राजपाले मन्त्रीको टुंगो लगाउन गृहकार्य गरिरहेको छ । मुख्यमन्त्रीको टुंगो लगाइसकेको फोरमले पनि मन्त्री छनोट गर्न आन्तरिक तयारीमा जुटेको छ ।

प्रदेश २ मा फोरमका २९ र राजपाका २५ सांसद छन् । यीमध्ये सबैजसोले मन्त्री हुनुपर्ने भन्दै पार्टीमा दबाब दिइरहेका छन् । सांसदकै दबाबका कारण मन्त्री छनोट गर्न दुवै पार्टीका शीर्ष नेतालाई टाउको दुखाइ भएको छ ।राजपाको भागमा भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको छ ।यसैगरी, फोरमको भागमा आन्तरिकमामला तथा कानुन, आर्थिक मामला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परेको छ । फोरम नेपालका महासचिव रामसहाय यादवले मन्त्री छनोट गर्न पार्टीले गृहकार्य गरे पनि टुंगो लगाउन बाँकी रहेको बताए । मुख्यमन्त्री, सभामुखको शपथग्रहणसँगै मन्त्री हुने नेताको टुंगो लाग्ने उनले बताए ।

सांसद भएपछि मन्त्री बन्न खोज्नु स्वाभाविक विषय भएको भन्दै राजपा नेपालका सहमहामन्त्री सुरेश मण्डलले पार्टीमा छलफल भइरहेको बताए । पार्टीबाट कोको मन्त्री हुने दुई–तीन दिनभित्रैमा टुंगो लागिसक्ने उनले बताए ।

विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालमा मन्त्री छनोट गर्न सकस भएको छ । अध्यक्षमण्डलका सदस्यहरू आफूनिकटका नेतालाई नै मन्त्री बनाउनुपर्ने लबिइङमा छन् । तीन मन्त्री मात्रै पाएको राजपाभित्र शीर्ष ६ नेताले आफू निकटका नेतालाई मन्त्री बनाउन खोजेकाले समेत समस्या सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लगाउन समस्या भएको एक नेताले बताए ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवले आ–आफ्नै निकटका नेतालाई मन्त्री बनाउन खोजेको नेताहरूको आरोप छ । मन्त्री बन्न फोरमभन्दा बढी राजपामा नेताहरूको दौडधुप छ ।

सोनललाई नेता मान्दैनौं : राय

मन्त्री छनोट गर्न सकस भएको राजपाभित्र संसदीय दलको नेता चयनप्रतिसमेत असन्तुष्टि बढेको छ । सोमबार राजपा नेपालको अध्यक्षमण्डलको बैठकले प्रदेश २ को संसदीय दलको नेतामा महासचिव जितेन्द्र सोनललाई मनोनीत गरेसँगै विरोध सुरु भएको छ ।

राजपा नेपालका वरिष्ठ नेता रामनरेश रायले अध्यक्षमण्डलले लोकतान्त्रिक प्रक्रियाको विरोधमा गरिएको निर्णय नमान्ने चेतावनी दिएका छन् । अध्यक्षमण्डलको निर्णय लोकतान्त्रिक प्रक्रियाको विरोधमा भएकाले त्यसलाई मानिराख्नुपर्ने आवश्यकता नभएको उनले बताए ।

‘अध्यक्षमण्डलले संसदीय दलको नेता लोकतान्त्रिक प्रक्रियालाई मिचेर संसदीय दलको नेता चयन गरेको छ, यो कुरा हामीले मिडियाबाट थाहा पायौं,’ रायले भने, ‘जुन कुरा हामीलाई थाहै छैन, त्यसलाई हामीले मानिराख्नुपर्छ भन्ने छैन ।’