एमाले–माओवादी केन्द्र आज पार्टी एकता खाका , एकताका मूलभूत खाका तय गरिने, बाँकी विषय टुंग्याउन कार्यदल गठन

टेनिस रोका / काठमाडौं

एमाले र माओवादी केन्द्रले एकताको अन्तिम खाकामा आज (बुधबार) सहमति जुटाउने तयारी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार र मंगलबार भएको गोप्य वार्ताको समझदारीअनुसार आज पार्टी एकता संयोजन समितिको बैठकमार्फत पार्टी एकताको मूलभूत विषयमा सहमति गरेर टुंगो लगाउने तयारी दुई दलले गरेका छन् ।

दुई अध्यक्षबीच यसअघि भएको सहमति नबिग्रिएको अवस्थामा आजै पार्टी एकताको खाका तय गरिनेछ । सरकार तथा पार्टी नेतृत्व, विचार तथा सिद्धान्तका विषयमा केही विषय टुंगो लगाउन बाँकी रहेको अवस्थामा भने संगठनात्मक र वैचारिक कार्यदल गठन गरेर मूलभूत विषयमा सहमति जुटाउने प्रयासमा दुवै दलका शीर्षस्थ नेताहरू रहेका छन् ।

दुई दलले सरकार, पार्टी नेतृत्व तथा संगठनात्मक तथा वैचारिक विषयमा मूलभूत रूपमा सहमति गर्ने र बाँकी विषय टुंग्याउन कार्यदल गठन गरेर जाने तयारी गरेको एक कार्यदल सदस्यले जानकारी दिए ।

एकताका मूलभूत खाका तय गरिने, बाँकी विषय टुंग्याउन कार्यदल गठन

एमाले अध्यक्ष ओलीसँग मंगलबार गोप्य भेटअघि माओवादी अध्यक्ष दाहालले मंगलबार नै ‘जनयुद्ध’ दिवसको दिन पार्टी एकताको विषयमा सहमति गरेर सार्वजनिक गर्ने तयारी भइरहेको खुलाएका थिए ।

२३औं ‘जनयुद्ध’ दिवसको अवसरमा योङ कम्युनिस्ट लिग नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले सम्भव भएसम्म मंगलबार नै एकतामा सहमति गरेर नयाँ सन्देश दिने तयारी भइरहेको जनाएका थिए । मंगलबार साँझ भएको ओलीसँगको गोप्य छलफलपछि आज संयोजन समितिको बैठकमार्फत एकताको विषय टुंग्याउनेमा ओली र दाहाल रहेको उनी निकटका नेताहरूको दाबी छ ।

अध्यक्षद्वय ओली–दाहालको सोमबार भएको गोप्य भेटमा पार्टी नेतृत्वमा बराबरी हिस्सा रहनेगरी दुई सदस्यीय संयन्त्र बनाउने र एउटा पार्टीले सरकारको नेतृत्व गर्दा अर्कोले पार्टीको नेतृत्व गर्ने, अढाई–अढाई वर्ष आलोपालो सरकारको नेतृत्व गर्ने, दुवै पार्टीले अंगीकृत गर्दै आएका विचारका मिल्दो विषय अहिले नै टुंग्याएर जाने र बाँकी विषय महाधिवेशनबाट हल गर्ने समझदारी गरेका थिए ।

एमाले उपाध्यक्ष भीम रावलले एकता अन्तिम चरणमा पुगेको उल्लेख गर्दै एकीकृत पार्टीको नेतृत्व र नीतिका विषयमा संयोजन समितिको बैठकले टुंगो लगाउने बताए । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले दुई अध्यक्षबीच पार्टी एकताको विषयमा समझदारी जुटिसकेकाले एकता संयोजन समितिको बैठकमार्फत ठोस निर्णय हुने जानकारी दिइन् । ओली र दाहाल दुवैको सचिवालयले आज एकता संयोजन समितिको बैठक बसेर एकताको विषय टुंग्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

वैद्य र चन्दलाई एकतामा आउन आह्वान

माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा क्रान्तिकारी माओवादी केन्द्रका महासचिव मोहन वैद्य र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलाई एकतामा आउन अपिल गरेका छन् ।

२३औं ‘जनयुद्ध’ दिवसको अवसरमा पार्टी कार्यालय प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै दाहालले दुई पार्टीबीच एउटै कम्युनिस्ट पार्टी गठनको अन्तिम तयारी भइरहेको भन्दै वैद्य र चन्दलाई पनि एकतामा आउन आग्रह गरे । उनले चन्दलाई लहड र रहरले तथा वैद्यलाई किताबका पानामा लेखेर र पढेर क्रान्ति सम्पन्न नहुने भन्दै एकीकृत कम्युनिस्ट पार्टी बनाउने अभियानमा सहभागी हुन अपिल गरेका थिए ।

वाम एकतालाई भाड्न अन्तर्राष्ट्रिय शक्तिसमेत लागिपरेको भन्दै उनले वाम एकताको विरोधमा लागे जनताको नभएर साम्राज्यवादी हुनेसमेत उल्लेख गरे ।