आफन्त मात्रै नबनोस् योग्यताको कसी

आफन्त मात्रै नबनोस् योग्यताको कसी

ध्रुव लम्साल

 

इतिहासकार बालचन्द्र शर्माले लेखेको ‘नेपालको ऐतिहासिक रूपरेखा’ पुस्तकमा जंगबहादुर राणाको बेलायत भ्रमणको सन्दर्भ छ । भ्रमण सन्दर्भमा उनी लेख्छन्, ‘आफ्नो अनुपस्थितिमा शासन कार्य चलाउन जंगबहादुरले आफ्ना माहिला भाइ बमबहादुरलाई कायममुकायम प्रधानमन्त्री बनाएका थिए । यसै गरी, बद्रिनरसिंह प्रधान सेनापति बनाइएका थिए भने कृष्णबहादुरको हेरचाहमा निजामती विभाग छोडिएको थियो । तथा रणोदीप सिंह पूर्व र पश्चिमका जिल्लाका प्रधान शासक बनाइएका थिए ।’
यही सन्दर्भलाई चित्तरञ्जन नेपालीले ‘जंगबहादुरको कथा’ पुस्तकमा उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘जंगबहादुरको माहिला भाइ बमबहादुर राणालाई प्रधानमन्त्रीको कार्यभार सम्पादन गर्ने काममा नियुक्ति गरियो । यसरी नै कृष्णबहादुरलाई निजामती विभागको प्रमुख बनाइयो भने रणोदीप सिंहलाई पश्चिमी र पूर्वीय क्षेत्रहरूको प्रशासनको जिम्मेवारी दिइयो । यसरी नै उनका काकाका छोरा जयबहादुरलाई भूमिसम्बन्धी राजस्व विभागको इन्सपेक्टर जनरल बनाइयो भने अन्य भाइभतिजालाई पनि विभिन्न महŒवपूर्ण विभागको जिम्मेवारी दिइयो ।’

त्यसबखत बेलायत भ्रमण अहिले जस्तो छिटो छरितो थिएन । जान आउन मात्रै महिना दिनभन्दा बढी लाग्थ्यो । सवारीसाधनका रूपमा विभिन्न स्थानअनुसार घोडा, बग्गी, पानी जहाज र तामदानको प्रयोग हुन्थ्यो ।
राणा शासन सुरु भएको केही वर्षमै बेलायत भ्रमणमा निस्केका जंगबहादुरले आफ्नै माइला भाइलाई प्रधानमन्त्रीको कार्यभार दिनुको अर्थ थियो आफू नभएको बेला अरू कसैले शासन सत्ता हातमा लिन नसकोस् ।
बेलायतबाट फर्केलगत्तै फेरि उनले शासन सत्ता आफ्नै हातमा लिए र आफन्तलाई सत्ता सुम्पँदै गए । १०४ वर्षसम्म राणाहरूले शाखा सन्तानलाई सत्ता सुम्पँदै गए । राज्य सञ्चालनको यो प्रणालीलाई वंश प्रणालीका रूपमा व्याख्या गरिन्छ । हालका राजनीतिक दलका नेता पनि जंगबहादुरको यो शैलीलाई निको मान्दैनन् ।

२००७ सालमा राणा शासन ढल्यो । निर्वाचनमार्फत निर्वाचित प्रतिनिधिले सत्ता सञ्चालन गर्ने व्यवस्था सुरु भयो । तर, राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाई ‘कु’ गरेपछि सत्ताको साँचो पुनः शाहवंश (राजा)मा गयो । शाहवंशमा निर्वाचन जितेर आएकालाई मन्त्री एवं प्रधानमन्त्री बनाउने चलन थियो । तर, निर्वाचन जितेकै भरमा मात्रै कोही पनि व्यक्तिले मन्त्री तथा प्रधानमन्त्री बन्ने हैसियत प्राप्त गर्दैनथे । दरबारसँग नजिक जो छ, ऊ नै प्रधानमन्त्री एवं मन्त्रीका लागि योग्य हुन्थ्यो ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएपछि कसलाई मन्त्री तथा प्रधानमन्त्री बनाउने भन्नेमा निर्णायक अधिकार जनताको हातमा आयो । जनताद्वारा निर्वाचित व्यक्ति प्रधानमन्त्री बन्ने प्रचलन सुरु भए पनि पार्टीका अध्यक्ष एवं सभापतिले आफ्ना नजिकियाहरूलाई स्थान दिन थाले । सोही परम्परा अहिले पनि कायम छ । मातृकाप्रसाद कोइरालादेखि ‘जनयुद्धका नायक’ दाहालसम्मले जंगबहादुरकै शैलीमा वंशवादलाई प्रश्रय दिएको जगजाहेरै छ ।
मातृकाप्रसाद कोइरालापछि बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासम्मले सत्ताको नेतृत्व गरे । नेपाली कांग्रेसको १३आंै महाधिवेशनले पार्टी सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गरेपछि देउवाले सत्ताको नेतृत्व गरे । अहिले देउवा आफ्नै श्रीमती आरजु राणा देउवालाई नेतृत्वमा स्थापित गर्ने भन्ने असफल (यो लेख तयार पार्दासम्म) प्रयासमा छन् । यता, कांग्रेककै अर्को खेमाका नेता कार्यकर्ताले आगामी पार्टी अध्यक्ष कुन कोइरालालाई बनाउने भनेर खोजिरहेका छन् । यसैबाट स्पष्ट हुन्छ हाम्रा दलका नेता कार्यकर्ता समेत जंगबहादुरलाई ‘खलनायक’ भनेर टिप्पणी गर्छन् । तर, उनको शैलीबाट आफूलाई मुक्त गर्न सकेका छैनन् ।

कांग्रेस, एमाले माओवादी, मधेसवादी, राप्रपालगायतका दलमा यही समस्या छ । एकछिनलाई मानौं, कांग्रेस, एमाले, राप्रपा परम्पराग शैलीमा हुर्किए । माओवादी पार्टीले त कुनै बेला मुलुकको शासन व्यवस्था नै परिवर्तन गर्छु, निर्णायक अधिकार ‘भुइँमान्छे’ को हातमा पु¥याउँछु भनेर लागेकै थियो । यसअर्थमा माओवादी नेताहरू परिवारवादबाट मुक्त हुनुपथ्र्यो । तर, माओवादी अध्यक्ष दाहालको पारिवार मोह यति जीर्ण छ, लाग्छ उनी पार्टीलाई भन्दा धेरै माया परिवारलाई गर्छन् ।
छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिका प्रमुख बनाउन कुन तहसम्मको हर्कत गरे, थप व्याख्या जरुरी छैन । कांग्रेस कार्यकर्ता त उनकी छोरीलाई प्रमुख बनाउन साक्षी नै बसे । बुहारी बिना मगर, ज्वाइँ जीवन आचार्य र भाइ नारायण दाहाललाई एकै झमटमा शीर्ष तहमा पु¥याउने उनको योजना छँदै छ ।
पटकपटक भएका आन्दोलनले सत्तामा बस्ने पात्रहरू फेरिए पनि सत्ताधारीको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा व्यक्तिको क्षमताभन्दा नाता बलियो हुने गरेकोे छ । यो परम्परामा तत्कालै परिवर्तन आउने संकेत पनि देखिँदैन ।
आन्दोलमा लागेकै कारण कुनै महिलाले पार्टी एवं मुलुकको नेतृत्व तहमा स्थान पाएको घटना दुर्लभ छ । महिला नेतृहरू नेतृत्व तहमा पुग्नुमा उनीहरूको क्षमता भन्दा पनि पार्टीको उच्च तहमा भएका व्यक्तिसँगको सम्बन्धले अहं भूमिका निर्वाह गरेको छ । पार्टीका ठूला मान्छे, बा, लोग्ने, मामा, काका भएकै कारण महिलाहरूले स्थान पाएका छन् ।

महिलालाई राजनीतिमा स्थापित गर्नु छ भने स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । कृपा गरेर पदमा लगिएका पात्रले न पार्टीका लागि काम गर्छन् न त मुलुकका लागि । नेताका श्रीमती, छोरी, भान्जी, सम्धिनी भएकै आधारमा पदमा पुगेकाले समाज बनाउलान् भनेर कसरी अपेक्षा गर्ने ?

नेतृत्वले यही गलत प्रवृत्ति अंगीकार गरेकै कारण विद्या भण्डारी राष्ट्रपति हुँदा वा ओनसरी घर्ती सभामुख हुँदा पनि उनको क्षमताको मूल्यांकन गर्नेहरू थोरै भए । मदन भण्डारीको श्रीमती भएको कारण राष्ट्रपति पद पाएको र वर्षमान पुनको श्रीमती भएको कारण सभामुख भएको आरोपसमेत लाग्यो । ३३ प्रतिशत महिला प्रतिनिधित्वलाई संविधानले सुनिश्चित गरेको छ । स्थानिय तह निर्वाचनदेखि प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा हरेक दलले ३३ प्रतिशत महिला उम्मेदवार बनाए । ३३ प्रतिशत लक्ष्य पूरा गर्नु मात्रै कुनै उपलब्धि होइन । कुन विधि, प्रक्रिया र मापदण्डले महिलालाई निर्णायक तहमा पु¥याइयो, त्यो महŒवपूर्ण हुन्छ ।
माया ज्ञवालीले न्याय पाइन्, अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा माया ज्ञवाली सांसद भएको विषयले चर्चा पाएको छ । माया २०५३ सालमा दासढुंगा दुर्घटनामा मारिएका मालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितकी श्रीमती हुन् ।
श्रीमान्को निधनपछि मायालाई स्व. मनमोहन अधिकारी र सहाना प्रधानले गुल्मी–१ वाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न आग्रह गर्दा अस्वीकार गरेकी थिइन् । कृषि सामग्री संस्थानमा लामो समय जागिर खाएकी ज्ञवाली अब ‘रिटायर्ड लाइफ’ सांसद बनेर बिताउनेछिन् ।
उनलाई सांसद बनाउँदा उनको परिवारलाई त न्याय भयो होला तर उनीभन्दा जुझारु र अहोरात्र राजनीतिमा लागेका महिलामाथि अन्याय पो भयो कि विश्लेषण जरुरी हुन्छ । राजनीतिमा लागेकाहरू कसैले पनि अजम्बरी बुटी खाएका हुन्नन् । जन्मेपछि मृत्यु हुन्छ । यो शास्वत सत्य हो । कुनै पनि ठूला नेता (नेतृ पनि)को निधन हुन सक्छ । कालगती, हत्या, दुर्घटना वा अन्य । मृत्युको कारण अरू पनि हुन सक्छ । तर, कुनै नेताको मृत्युलगत्तै उसको स्थानमा उसकै परिवारका सदस्यलाई स्थान दिनु राम्रो होइन ।

कोही पनि व्यक्तिको हत्या भयो भने हत्याको अनुसन्धान गरेर हत्यामा संलग्नलाई कडा कारबाही गर्ने हो । मारिने व्यक्तिका परिवारलाई योग्यताअनुसारको काम दिनुपर्छ । तर, हाम्रो मुलुकमा एउटा गलत परम्परा बसेको छ । भीरबाट लडेर मरे पनि दलका नेता भए हत्या दाबी गर्ने तर हत्या कसरी भयो भनेर छानबिन नगर्ने । उसका परिवारका सदस्य (श्रीमान्, श्रीमती, छोरा छोरी)लाई जबर्जस्ती राजनीतिमा धकेल्ने पनि परम्परा जस्तै छ । यो प्रवृत्तिले न पार्टीलाई फाइदा हुन्छ न त मुलुकलाई नै । राजनीति आफैंमा एउटा विशिष्ट कार्य हो । यसमा लाग्न व्यक्तिमा विशेष क्षमता हुनुपर्छ । जोर जबर्जस्तीले राजनीतिमा लागेकाहरूमा विशिष्ट क्षमता नहुन पनि सक्छ ।
प्रसंग माया ज्ञवाली मात्रै होइन । कुनै पनि महिलालाई राजनीतिमा स्थापित गर्नु छ भने स्वस्थ प्रतिस्पर्धा नै हुनुपर्छ, कसैलाई पनि कृपा गरेर पदमा लगिनुहुन्न । त्यसरी जबर्जस्ती लगिएका पात्रले न पार्टीका लागि काम गर्छन् न त मुलुककै लागि । पार्टीका शीर्ष तहका नेतासँग नाता लागेकै भरमा राजनीतिमा पद पाउनेहरूबाट शासन व्यवस्था परिवर्तनको अपेक्षा गर्न सकिन्न ।