प्रेमीहरूको महान् पर्व : प्रणय दिवस

प्रेमीहरूको महान् पर्व : प्रणय दिवस

देवेन्द्र अर्याल ‘आँसु’

सबै भन्छन् प्रेमको सुन्दर याम हुन्छ
जुन दिन सबका सामु हामी दुईको नाम हुन्छ
प्रत्येक वर्ष १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा पश्चिम मुलुकलगायत हाम्रो देशमा पनि मनाइन्छ । प्रेम दिवस विश्वभरि उल्लासमय वातावरणमा मनाउन थालिएको धेरै भएको छैन । दुई दशक अगाडिसम्म नेपाली समाजमा अत्तोपत्तो नभएको
‘भ्यालेन्टाइन डे’ केही वर्षयता सबैको आकर्षण बन्न पुगेको छ । प्रविधिको व्यापक प्रयोग र सञ्चार माध्यमका कारण यसले नेपाली युवायुवतीको मनमा एउटा पर्वका रूपमा जरा गाडिसकेको छ ।

प्रेम दिवस, भ्यालेन्टाइन डे, प्रणय दिवस, प्रेमोत्सव आदि नामले यस पर्वलाई मनाइन्छ । भ्यालेन्टाइन डेलाई महान् उत्सव वा पर्वका रूपमा मनाइन्छ । यस पर्वको सुरुवात तेस्रो शताब्दीको उत्तराद्र्धबाट भएको हो । यो दिवस ‘सेन्ट भ्यालेन्टाइन’ को सम्झनामा प्रेमका अनुयायीहरू उनीप्रति प्रेम र सम्मान प्रकट गरी मनाउँछन् । त्यतिबेला राजाज्ञाको उल्लंघन गरेको कारण १४ फेब्रुअरी २६९ का दिन भ्यालेन्टाइनलाई रोमन सम्राट क्लाडियसले मृत्युदण्डको सजाय सुनाएका थिए । त्यतिबेला सैनिकलाई प्रेम र विवाह गर्न प्रतिबन्ध लगाइएको थियो । विवाहपछि पुरुषको बल र विवेक हराएर जाने मान्यता राख्ने रोमन सम्राट क्लाडिउसले आफ्ना सैनिक र प्रहरीलाई विवाह गर्न रोक लगाएका थिए । उनले राजाको त्यस प्रकारको अभियानविरुद्ध सबैलाई पे्रम गर्न र विवाह गर्न तयार पारे अनि कैयनको आफैंले जोडी पनि खोजी दिए । उनको यो कार्यलाई राजआज्ञा उल्लंघन गरेको ठहराइयो । त्यति बेला उनलाई मृत्युदण्ड दिने निर्णय भएको थियो । पादरी सेन्ट उक्त निर्णयबाट विचलित भएनन् । उनले पे्रमप्रति उच्च सद्भाव र आस्था प्रकट गरेर पे्रमका लागि हाँसीहाँसी मृत्युदण्ड वरण गरे । सेन्टको उक्त साहसिक कदमले पे्रम गर्नेहरूलाई नवीन ऊर्जा र सम्मान एवं आस्था जगायो । उनको पे्रमप्रतिको सहादत र उन्मुक्त भावका कारण मृत्युपछि आज विश्वभरिका प्रेमप्रेमिकाले हृदयदेखि नै उनलाई सम्झन थालेका छन् ।

सैनिकलाई प्रेम र विवाह गर्न प्रतिबन्ध लगाइएको थियो। विवाहपछि पुरुषको बल र विवेक हराएर जाने मान्यता राख्ने रोमन सम्राट क्लाडिउसले आफ्ना सैनिक र प्रहरीलाई विवाह गर्न रोक लगाएका थिए

मृत्यु पनि कसैका लागि विशेष वा महŒवपूर्ण बन्छ भन्ने कुरा भ्यालेन्टाइनको मृत्युले सबैलाई सम्झन बाध्य बनाएको छ । जसका कारण संसारले उनलाई सम्झन पुगे । कालान्तरमा उक्त खुसियालीमा प्रेम साटासाट गरेर यसलाई पर्वका रूपमा मनाउन थाले । ‘भ्यालेन्टाइन डे’ लाई बेलायतमा अझै ‘विवाह दिवस’ का रूपमा मनाइन्छ भने अमेरिका, फ्रान्स, रोम, चीन, भारत, नेपाल, अफ्रिकालगायतका देशमा हर्ष, उमंगसहित धुमधामसँग मनाइन्छ । अंग्रेजी साहित्यमा पनि भ्यालेन्टाइन डेको चर्चा गरिएको पाइन्छ । पश्चिमी साहित्यकार चौसरले आफ्नो ‘पार्लियामेन्ट अफ फाउल्स’ मा ‘भ्यालेन्टाइन डे’ को चर्चा गरेका छन् भने महान् नाटककार सेक्सपियर र अलेक्जेन्डर पोपले आफ्ना रचनामा १४ फेब्रुअरीलाई प्रेमको महान् दिन वा शुभ मुहूर्तका रूपमा उल्लेख गरेको पाइन्छ ।
साँचो प्रेम गर्नेहरूलाई कुनै दिवस चाहिन्न । प्रेम मानवका लागि अत्यावश्यक छ । मानिसको जीवन प्रेममय बन्नुपर्छ । प्रेम फैलाउने उत्सव हुँदैन । अबको प्रेम पहिले पहिलेको जस्तो छैन । ‘भ्यालेन्टाइन डे’ का नाममा एक दिन लहडी प्रेमी बन्ने होइन । त्यसैले आत्मिक प्रेम गर्न खासै दिवस चाहिन्न । भ्यालेन्टाइन डे आएपछि बजारमा विभिन्न कार्ड, उपहारको माग बढ्छ । भ्यालेन्टाइन डेमा रातो गुलाफको पनि ज्यादै व्यापार हुने गरेको पाइन्छ । सुरुसुरुमा भ्यालेन्टाइन कार्ड र उपहार हस्त निर्मित हुन्थे तर प्रविधिको विकास र प्रसारसँगै थुप्रै उपहार, गिफ्ट आइटम बजारमा देख्न सकिन्छ । भ्यालेन्टाइन कार्ड, उपहार तथा रातो गुलाफको फूल यस अवसरमा खुबै बिक्री हुने गर्छ । नेपाली बजारमा यस पर्वमा लाखौं रूपैयाँको गुलाफ फूलको बिक्री हुने गरेको पाइन्छ । जुन फूल विदेशबाट आयात गरिन्छ ।

नवप्रेमीहरूले प्रेमिका रोज्ने र रोजिसकेकाहरूले आफ्नो प्रेम चिरस्थायी बनाउने महŒवपूर्ण दिनका रूपमा ‘भ्यालेन्टाइन डे’ लाई लिन सकिन्छ । अब नेपाली समाजमा पनि भ्यालेन्टाइन डे को लोकप्रियता बढ्दै गएको छ । पाश्चात्य संस्कृति भएर पनि यसले पूर्वीय समाजमा एउटा संस्कारको रूप धारण गरिसकेको छ । एकापसमा मित्रता र मिलन गराउने भएकाले यसलाई सकारात्मक उत्सवका रूपमा लिन सकिन्छ । माया गर्नु, कसैलाई मायालु भावले हेर्नु, उपहार, शुभकामना आदान प्रदान गर्नु यस शुभ दिनमा गरिने कार्य नै हुन् । त्यसैले प्रणय दिवसलाई प्रेमीप्रेमिकाबीचमा सीमित राखेर हेर्न मिल्दैन । यसलाई प्रेमको महान् उत्सवका रूपमा लिन सकिन्छ ।