हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

राजधानी संवाददाता / राजविराज

जंगली हात्तीको आक्रमणबाट मंगलबार दिउँसो दुई जना महिलाको मृत्यु भएको छ । घाँस काट्न गएकी सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र सोही वडाकी ४५ वर्षीया दुर्गादेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

दिउँसो २ बजेतिर घाँस काट्दै गर्दा कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट आएको हात्तीले आक्रमण गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धपाउने क्रममा आक्रमक भएको हात्तीले पछि फर्किएर लखेटेपछि गाउँलेबीच भागदौड मच्चिएको थियो । दुवै महिलाको टाउको र छातीमा हात्तीले कुल्चिएर मारेको अवस्थामा शव भेटिएको स्थानीयले बताए । लामो समयदेखि स्थानीय जंगलमा हात्ती बस्न थालेपछि गाउँले राम्रोसँग निदाउन पाएका छैनन् ।

स्थानीयवासी डम्बर राईका अनुसार विगत एक वर्षदेखि कञ्चनरूप नगरपालिका र आसपासका गाउँमा जंगली हात्तीले पाँच दर्जनभन्दा बढी घरमा क्षति पु¥याउनुका साथै लाखौंको अन्नबाली समेत नष्ट गरिदिएका छन् ।

स्थानीयवासी डरले रातभर जाग्राम बस्ने गरेको कञ्चनरूप नगरपालिका–२ का अनिल पोखरलले बताए । विगत एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट सो क्षेत्रका चार जनाको मृत्यु भइसके पनि स्थानीय प्रशासनले नियन्त्रणको ठोस उपाय ननिकाल्दा स्थानीयवासी आक्रोशित बनेका छन् ।