प्रदेश ५ को सभामुखमा घर्तीको मनोनयन दर्ता

राजधानी संवाददता / रूपन्देही

प्रदेश ५ को सभामुखमा माओवादी केन्द्रका तर्फबाट रुकुमका पूर्ण घर्तीको मात्रै उम्मेदवारी परेको छ । कांग्रेसले उम्मेदवारी नदिएपछि घर्तीको मात्रै उम्मेदवारी परेको हो ।एमाले र नेकपामा ओवादीको गठबन्धनअनुसार प्रदेश ५ मा सभामुखमा ओवादीको भागमा परेको थियो । बुधबार बस्ने प्रदेशसभाको दोस्रो बैठकबाट घर्ती सभामुखमा निर्वाचित हुने कार्यतालिका छ ।

२ फागुनको १० बजे बस्ने संघीय बैठकमा सभामुखको निर्वाचन हँुदै छ । यसका लागि संसद् सचिवालयमा मंगलबार मनोनयन दर्ता गरिएको हो ।

सभामुखको निर्वाचनका लागि २ फागुनमा दोस्रो संसद् बैठक बस्दै छ । बैठकबाट सभामुख चुनिएपछि साँझ ५ बजे प्रदेश प्रमुख उमाकान्त झाले शपथ खुवाउने कार्यक्रम तय भइसकेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्दै माओवादीका सचेतक दधिराम शर्मा प्रस्तावक र एमालेका सचेतक भुमेश्वर ढकालको समर्थनसहित मनोनयनपत्र प्रदेश सचिव शंकर पाठकलाई बुझाइएको हो । वाम गठबन्धनबीच यसअघि नै भएको सहमतिअनुसार प्रदेश–५ मा नेकपा एमालेलाई मुख्यमन्त्री र माओवादीलाई सभामुख दिइने सहमति भएको छ । बुधबार निर्वाचित हुने सभामुखले प्रदेश प्रमुखसँग शपथ लिने व्यवस्था छ । शपथपछि सभामुखले कार्यभार सम्हाल्नेछन् ।

२०३७ सालमा विद्यार्थी राजनीति हुँदै पार्टीमा लागेका उनी हाल माओवादी केन्द्रको ५ नम्बर प्रदेश इन्चार्ज छन् । माओवादी जनयुद्ध कालमा उनी सांस्कृतिक समूहको नेतृत्वमा थिए । जनवादी गायकका रूपमा १७ वर्ष काम गरेका उनी रुकुमको जनसरकार प्रमुख पनि थिए । सभामुखको निर्वाचनका लागि संसद् भवनलाई नयाँ स्वरूपमा सजाइएको छ । संसदमा आफ्नै नयाँ कुर्सी र टेबल व्यवस्थापन गरिएको छ । सत्तापक्ष र प्रतिपक्षका कुर्सीहरू छुट्याएर राखिएको छ भने सांसदका अघि टेबल राखिएको संसद् सचिवालयले जनाएको छ ।