हिमपातले मुक्तिनाथ सडकखण्ड अवरुद्ध

सुन्दरकुमार थकाली / मुस्ताङ

मुस्ताङमा सोमबार राति परेको हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएको छ भने उपल्लो मुस्ताङ जाने छुसाङ–लोमान्थाङ चल्ने सवारीसाधन समेत हिमपातकै कारण रोकिएको सीमा प्रहरी चौकी लोमान्थाङले जनाएको छ ।

उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ । उपल्लो मुस्ताङको छोसेर, छोनुप, सम्जुङ, सुर्खाङ, लोमान्थाङ, चराङ, मराङ, घमी र समरमा २ फिटसम्म हिउँ परेको सीमा प्रहरी चौकी लोमान्थाङका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए । उनका अनुसार भारी हिमपात भएपछि चिसोसमेत अत्यधिक बढेको र स्थानीयवासी घरबाहिर समेत निस्कन

सकेका छैनन् ।

हिमपातकै कारण छुसाङदेखि लोमान्थाङ जाने ७० किलोमिटर सडक प्रभावित बनेको खनालले जानकारी दिए । सडक अवरुद्ध भएपछि चिसो छल्न बेंसी झरेका स्थानीय घर फर्कने क्रममा बीच बाटोमै अलपत्र परेका छन् भने विभिन्न कार्यालयमा कार्यरत कर्मचारी समेत कार्यालय फर्कने क्रममा बीच बाटोमै रोकिएका छन् । तल्लो मुस्ताङको जोमसोम, मार्फा, टुकुचे, कोवाङ र लेतेमा समेत भारी हिमपात भएकाले एक्याप जोमसोमले जनाएको छ ।

जोमसोमदेखि मुक्तिनाथतर्फ जाने कालोभीर, खिंगा, झारकोट र कागबेनीमा सडकमै भारी हिमपात भएपछि सडक अवरुद्ध भएको निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले जानकारी दिए । मुक्तिनाथ जाने कालोपत्रे सडकमै २ फिटसम्म हिउँ जमेपछि दर्जनौं यातायातका साधन कागबेनीमै रोकिएको उनले बताए । सडकमै बाक्लो हिउँका कारण सवारीसाधन मुक्तिनाथ जान नसक्ने भएपछि मुक्तिनाथ मन्दिर पुग्ने नेपाली तथा भारतीय तिर्थालु ५ घण्टाको ठाडो उकालो हिँड्न बाध्य भए ।

चिसो छल्न बेंसी झरेका स्थानीय, कर्मचारी र विद्यार्थी जिल्ला फर्कने क्रममा हिउँ परेको हो । हिउँ परेपछि अन्य क्षेत्र प्रभावित बने पनि यहाँका किसानमा भने नयाँ उत्साह पलाएको छ । हिउँ पर्दा जमिनलाई चाहिने आवश्यक चिस्यानको मात्रा पुग्ने र वायुमण्डलको कार्बनडाइअक्साडसमेत हिउँमा मिसिएर जमिनको सतहमा आइपुग्ने भएकाले खेतीयोग्य जमिनको उर्वराशक्ति बढ्ने मार्फा बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले बताए । हिउँ परेपछि मुस्ताङमा उत्पादन हुने स्याउ, आलु, फापर, जौ, उवालगायत अन्य अन्नबाली फस्टाउने जामसोमका किसान अजित थकालीले बताए ।

मुस्ताङ स्याउ उत्पादन गर्ने प्रमुख जिल्लाका रूप चिनिन्छ । लामो समयसम्म पर्न नसकेको यो सिजनको हिउँले यहाँका किसानलाई राहत पु¥याएको उनको भनाइ छ ।

मुस्ताङ घुम्न र मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकलाई समेत हिउँ खेल्ने अवसर मिलेको छ । हिउँमै बसेर फोटो खिच्न पर्यटक मात्र होइन, यहाँका युवायुवती समेत तँछाडामछाड गर्छन् । केही दिनअघि फुस्रा देखिएका मुस्ताङका नांगा डाँडाकाँढासमेत हिउँले सेताम्मे भएका छन् । यसअघि एकपटक मात्र छिटफुट हिउँ परेको थियो ।