उपाध्यायलाई युद्धप्रसाद मिश्र पुरस्कार

काठमाडौं / रास– युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ प्रगतिवादी साहित्यकार गोपीरमण उपाध्यायलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानको हालै बसेको बैठकले सो पुस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानले १० हजार राशिको यो पुरस्कार रकमलाई दोब्बर गर्दै यस वर्ष २० हजार रुपैयाँ बनाएको हो । प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले यस वर्षदेखि पुरस्कारको राशि वृद्धि गरिएको बताए ।

उनका अनुसार प्रतिष्ठानले प्रगतिशील आन्दोलनको अगुवाइ गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने परम्पराअनुसार २०४९ सालदेखि निरन्तर सम्मान गर्दै आएको बताए । पुरस्कृत उपाध्याय लामो समयदेखि माक्र्सवादी साहित्य लेखनमा क्रियाशील रहेका छन् ।

उपाध्यायले वाराणसीमा रहँदा पुष्पलाल र युद्धप्रसाद मिश्रको निकट सहयोगीका रूपमा समेत काम गरेका थिए । उनका माक्र्सवादी साहित्यसम्बन्धी एक दर्जन पुस्तक प्रकाशित भएका छन् । सो पुरस्कार मिश्रको जन्मदिनको अवसरमा उनलाई प्रदान गरिनेछ ।