मजदुरका लागि गौरव र अनुको पसिना

राजधानी समाचारदाता / काठमाडौं

आगामी १४ वैशाखबाट देशव्यापी प्रदर्शनको घोषणा गर्दै मंगलबार राजधानीमा एक समारोहबीच चलचित्र ‘पसिना’को एउटा गीतको भिडियो र ट्रेलर सार्वजनिक गरिएको छ ।

आरबी खत्री ‘शरद’ निर्देशित चलचित्रको ट्रेलरमा महिला श्रमिकहरूको पीडालाई उठान गरिएको छ । चलचित्रले पनि श्रमिकहरूको हक अधिकारका आवाज उठाएको निर्देशक शरदले मंगलबार कार्यक्रममा बताए ।

मंगलबार नै सार्वजनिक गरिएको गीत हावा चल्यो सिरिरी…को भिडियोमा अनु शाह र गौरव पहारीले अभिनय गरेका छन् । नारद रिजालको शब्द रहेको यो गीतमा राजनराज शिवाकोटीको संगीत र स्वर छ ।

‘गरौं सत्कर्म बगाउँ पसिना’ भन्ने नारा रहेको यो चलचित्रमा श्रमिकहरूको हकहितका लागि बनाएको यसकी निर्माता शान्ता ढाकालले कार्यक्रममा बताइन् । यसका अर्का निर्माता सञ्जय महतो हुन् ।

चलचित्र पसिनामा गौरव र अनुसँगै सरोज खनाल, रवि गिरी, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजोपाध्य, सृजना अधिकारी, शिवशंकर रिजाल, सुरजनी केस, शारदा गिरीसहितका कलाकारको अभिनय रहेको छ ।

राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको संगीत रहेको चलचित्रलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । जसमा शिव विकको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन र राम केसीको छायांकन रहेको छ ।