प्रेममा परेका अभिनेता–अभिनेत्री

डब्बु क्षत्री / काठमाडौं

आज यस वर्षको प्रणय दिवस । आफ्नो प्रेमबारे खुलासा गर्ने दिन अनि प्रेम सम्बन्धलाई अझ प्रगाढ तुल्याउने दिन । पश्चिमा संस्कृतिलाई अनुसरण गर्दै विगत डेढ दशक यताबाट नेपालीहरूले पनि १४ फेब्रुअरीलाई प्रेम दिवसका रूपमा मनाउँदै आएका छन् त्यसैले आज धेरैले आफ्नो प्रेमलाई खुलासा गर्नेछन् । यता नेपाली चलचित्र वृत्तमा पनि केही अभिनेत्री अहिले प्रेममा छन् ।

यीमध्ये केहीले खुलासा गरेका छन् भने केही अभिनेत्रीले प्रेम सम्बन्धबारे अझै लुकाएका छन् । यस वर्षको भ्यालेन्टाइनलाई केही अभिनेता अभिनेत्रीले विशेष बनाउँदै छन् । केहीले लुकीचोरी नै प्रेम सम्बन्ध दर्शाउँदै छन् ।

अभिनेत्री प्रियंका कार्कीका लागि यस वर्षको भ्यालेन्टाइन विशेष हुँदै छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी विगत डेढ वर्षदेखि प्रेममा छन् । यी जोडीले आफ्नो प्रेम सम्बन्ध खुलासा गरेको एक वर्ष हुन लाग्यो । आउँदो दिनमा दाम्पत्य जीवनमा समेत बाँधिने घोषणा गरेका यी जोडीले आफ्नो सम्बन्धलाई अझ प्रेमिल बनाउँदै छन् । यसपटकको भ्यालेन्टाइनमा प्रियंका र आयुष्मानले एक अर्कालाई शुभकामना आदनप्रदानसँगै विशेष उपहारसहित विशेष बनाउने सञ्चारमाध्यमलाई खुलासा गरेका छन् ।

यस्तै, अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउत पनि प्रेम सम्बन्धमा छन् । उनीहरू प्रेममा बाँधिएको चार वर्ष हुन लाग्यो । चलचित्र ‘सरी ल’को कार्यशालामा भेट भएका यी जोडीको त्यतिबेला नै प्रेम बसेको थियो । यी जोडीको प्रेमलाई दुवै परिवारका तर्फबाट सहजै स्वीकार गरिएपछि संजोग र वर्षा प्रेमिल बन्दै आएका छन् ।

यी दुईले सुरक्षित भविष्यलाई समेत मध्यनजर राख्दै संयुक्त व्यवसाय दुई वर्षअघिदेखि सुरु गरेका छन् । संजोगका अनुसार वर्षा र उनको संयुक्त इन्टेरियर डिजाइन तथा व्यवस्थापन व्यवसाय छ । यस्तै, यी जोडीले एक वर्षयताबाट चेन क्याफेका रूपमा ‘केटीएम क्याफे’ व्यवसाय पनि सुरु गरेका छन् । संजोग र वर्षा प्रायः फिल्ममा व्यस्त हुने गर्छन् । एकअर्काले फुर्सद निकालेर व्यवसायलाई पनि अघि बढाएका छन् । अहिले दुवै चलचित्र करिअरमा व्यस्त भएकाले विवाहलाई केही वर्ष पछि सारेका यी जोडीको यसपटकको प्रणय दिवस पनि विशेष हुँदै छ ।

अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ पनि विगत चार वर्षदेखि प्रेम सम्बन्धमा छन् । आफूहरूको प्रेम सम्बन्धलाई लक्ष्मण सुवेदी निर्देशित चलचित्र एउटा साथीले अझ नजिक तुल्याइदिएको सलोनले बताएका छन् । यी जोडीले अहिले नयाँ चलचित्र बाबु कान्छामा अभिनय गरेका छन् । सलोनकै पिता शोभित बस्नेत निर्देशित यो चलचित्र चाँडै प्रदर्शनमा आउँदै छ ।

करिश्मा यतिबेला काठमाडौंमा छिन् । सलोन बस्नेत चलचित्र ‘जय भोले’को छायांकनका लागि यतिबेला झापा पुगेका छन् । यसपटकको प्रेम दिवस एकले अर्कालाई फोनबाटै शुभकामना दिएर मनाउने अभिनेता सलोनले बताए । ‘बिगतको भ्यालेन्टाई हामीले भेटेरसँगै मनाउने गरेका थियौं, अहिले म सुटिङका लागि झापामा भएकाले फोनबाटै शुभकामना आदनप्रदान गरेर मनाउँदै छु,’ अभिनेता सलोनले भने, ‘भ्यालेन्टाइन भए पनि सुटिङ छाड्न नमिल्दो रहेछ ।’ अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी पनि विगत चार वर्षदेखि प्रेममा छन् । यी दुवै कलाकार अहिले फिल्मी करिअरकै दौडमा छन् । तथापि यी दुई एकआपसमा अहिले पनि प्रगाढ माया गर्छन् । चलचित्र आभासबाट संयम पुरी र आश्मा डीसीको प्रेम सम्बन्ध प्रगाढ भएको हो । यो प्रेम सम्बन्धलाई संयमको परिवार र आश्माको परिवारले पनि स्विकारेकाले उनीहरू निरन्तर प्रेमिल बन्दै आइरहेका छन् ।

प्रेम सम्बन्धमा रहेकी अर्की अभिनेत्री हुन, नम्रता श्रेष्ठ । अहिले उनी आफ्नो एउटा नयाँ चलचित्रको कार्यशालामा व्यस्त छिन् । तथापि उनको पनि विगतको झैं यसपटकको प्रणय दिवस प्रेमिल हुँदै छ । उनी एसियन ट्रेकिङका प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पासँग विगत चार वर्षदेखि प्रेम सम्बन्धमा छिन् । यी जोडीले एकले अर्कालाई हरेक कार्यमा सघाउने गर्छन् । विभिन्न कार्यक्रममा सँगै प्रस्तुत हुने नम्रता र दावाको प्रेम सम्बन्ध पनि प्रगाढ रहँदै आएको छ ।

अन्य केही नायिकाहरू पनि प्रेम सम्बन्धमा छन् । तर, उनीहरूले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गर्न चाहेनन् । हालै रिलिज भएको चलचित्र ऐश्वर्याकी अभिनेत्री दीपिका प्रसार्इं र चलचित्र निर्देशक दिवाकर भट्टराईको प्रेम प्रगाढ रहेको समाचार केही दिनयताबाट सञ्चारमाध्यममा आएका छन् । तर, यो कुरालाई अस्वीकार गर्दै निर्देशक भट्टराईले राजधानीसँग प्रेम सम्बन्धको प्रमाण पेस गर्न चुनौती दिँदै भने, ‘चलचित्र नायिका र निर्देशक भएपछि विभिन्न कामले सँगै भेट्ने, हिँड्ने गरिन्छ तर हामीबीच प्रेम सम्बन्ध छैन र हाम्रो बारेमा आएका समाचारहरू सत्य होइनन् ।’