कोरियाली पूर्वराष्ट्रपति पार्ककी साथी चोईलाई २० वर्ष जेल

सोल / एजेन्सी– दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन–हाइकी नजिककी साथी चोई सुन सिललाई २० वर्षको जेल सजाय सुनाएको छ । गत वर्ष दक्षिण कोरियाली राष्ट्रपति पार्कलाई महाभियोग लगाउने संसद्को निर्णयलाई अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्ककी साथी चोइ–सुन सिलले पार्कलाई लामो समयसम्म सघाएकी थिइन् ।

राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक अपचलन तथा भ्रष्टाचार गरेको आरोपमा उनलाई १५ महिनाअघि हिरासतमा लिइएको थियो । हिरासतमा लिएको १५ महिनापछि उनीमाथि लागेको आरोप पुष्टि गर्दै २० वर्षको जेल सजाय सुनाएको हो ।

चोईले राष्ट्रपतिलाई प्रभावमा पारेर आर्थिक अपचलन गरेको आरोपबाट सुरु भएको विवादका कारण दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क ग्युन हाईमाथि महाअभियोगसम्म पुगेको थियो । उनीमाथि थुप्रै आर्थिक अपचलनका मुद्दा लागेको भए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएकी छन् ।

चोईलाई सुनाइएको जेल सजायविरुद्ध भने अदालतमा पुनः अपिल गर्ने उनका वकिलले बताएका छन् । सोलस्थित जिल्ला अदालतले चोईलाई १८ बिलियन कोरियन वन अर्थात् १६ मिलियन डलर जरिबानासमेत गर्ने फैसला गरेको छ ।

उनले बेग्लाबेग्लै भ्रष्टाचारका आरोपमा तीन वर्षभन्दा लामो समय जेलमा बिताइसकेकी छन् । बहुचर्चित सामसुङ कम्पनीका उपाध्यक्षलाई समेत चोईले राजनीतिक प्रभावमा परेर रकम दिएको आरोपमा गत वर्ष जेल सजाय तोकिएको थियो । तर उनी यही फेब्रुअरीको पहिलो साता रिहा भएका थिए ।

संसद्ले महाअभियोग

लगाएपछि दक्षिण कोरियाली राष्ट्रपति पार्कले गत वर्षको मार्चमा आधिकारिक रूपमा पद गुमाएकी थिइन् । प्रजातान्त्रिक प्रक्रियाबाट पहिलोपटक निर्वाचित पहिलो महिला राष्ट्रपतिले महाअभियोगका कारण सत्ता छाड्नुपरेको हो ।