किमद्वारा दक्षिण कोरियाको प्रशंसा

एजेन्सी / प्योङयाङ

उत्तर कोरियाका नेता किम जोङ उनले आफू उत्तर कोरियासँग निकट सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । उत्तर कोरियाली नेता किमले शान्ति बहालीका लागि दक्षिण कोरियाले गरेका सबै प्रयासका लागि प्रशंसा गरेको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ ।

नेता किम जोङ उनले ओलम्पिक उद्घाटन समारोहमा उत्तर कोरियाली नेतालाई दिएको विशेष प्राथमिकताका लागि दक्षिण कोरियालाई धन्यवाद दिएका छन् ।

केसीएनएका अनुसार किम जोङ उनले दक्षिण कोरियाको प्योङचाङमा भएको शीतकालीन ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुनुका साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनसँग भेट गरेर फर्किएलगत्तै बुझाएको रिपोर्टपछि किम खुसी भएको बताइएको छ ।

दक्षिण कोरियाको भ्रमण सकेर फर्किएको किमकी बहिनी किम यो–जोङ, उत्तर कोरियाली संसद्का प्रमुख किम योङ नामसहितको टोलीले सर्वोच्च नेता किम जोङ उनलाई रिपोर्ट बुझाएको थियो ।

यद्यपि यो रिपोर्टमा किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपतिलाई पठाएको भनिएको उत्तर कोरिया भ्रमणका बारेमा केही उल्लेख गरिएको छैन । गत शुक्रबार ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागी भएको उत्तर कोरियाली टोलीले शनिबार दक्षिण कोरियाली राष्ट्रपतिसँग भेट गरेको थियो ।

सो भेटका क्रममा सो टोलीले नेता किमका तर्फबाट दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलाई प्योङयाङ भ्रमणको निम्तो दिएको थियो । दक्षिण कोरियाली राष्ट्रपति प्योङयाङ गएर उत्तर कोरियाली नेतासँग भेट गरेमा दशकभन्दा लामो समयपछि दुई देशका नेताबीचको शिखर वार्ता हुनेछ ।

यद्यपि दक्षिण कोरियामा बलियो प्रभाव रहेको अमेरिकाले पछिल्लो समयमा उत्तर कोरियासँग बढेको सामीप्यतालाई लिएर चेतावनी दिइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम जारी राखेको अवस्थामा विन्टर ओलम्पिक भइरहेकाले उसले अझै सतर्क रहनुपर्ने बताएको छ । उसले उत्तर कोरियाको कदमबाट प्रभावित हुन नहुनेमा जोड दिएको छ ।

गत शनिबार अमेरिकी राष्ट्रपति माइक पेन्सले ट्वीट गर्दै उत्तर कोरियाको प्रोपोगान्डा सफल हुन नदिने दाबी गरेका थिए ।

सन् १९५० मा भएको कोरियाली युद्धपछि पहिलोपटक किम परिवारकी सदस्य किम यो–जोङ र किम योङ नामले दक्षिण कोरियाको उच्चस्तरीय भ्रमण गरेका हुन् । दुई कोरियाले तनाव र युद्धका बाबजुद अहिलेसम्म शान्ति सम्झौतामा हस्ताक्षर गरेका छैनन् भने आपसी अविश्वास कायमै रहेको अवस्था छ ।

यसै वर्षको जनवरी १ मा दुवै कोरियाका नेताले वार्ताका लागि आह्वान गर्दै नरम नीति लिएपछि सम्बन्धमा केही सुधार आएको हो । उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्वीपमा निरन्तर तनाव बढेका बेला भएको यो प्रयासलाई भने सकारात्मक रूपमा लिइएको छ ।