घरजग्गा कर्जा अझै घटेन

राजधानी समाचारदाता  / काठमाडौं

नेपाल राष्ट्र बैंकले घरजग्गा लगानीमा कडाइ गरे पनि बैंकहरूले त्यसतर्फको कर्जा अझै घटाउन सकेका छैनन् । केन्द्रीय बैंकले घरजग्गातर्फको लगानीलाई अनुत्पादक मान्दै यस क्षेत्रतर्फको लगानीलाई कडाइ गर्दै आएको थियो । तर, बैंकहरूले भने यस क्षेत्रतर्फका लगानी भने पटक्कै घटाएका छैनन् ।

चालू आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले ६१ दशमलव ३ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह गरेका छन् । गत वर्ष यस्तो शीर्षकमा ६० दशमलव ६ प्रतिशत कर्जा प्रवाह भएको थियो । बैंकले लगातार अनुत्पादक क्षेत्रमा कर्जाको ठूलो हिस्सा लगानी गरिरहेकाले त्यसलाई न्यूनीकरण गर्न राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा समेत घरजग्गाको कारोबारलाई कडाइ गरेको छ ।

त्यसैगरी, चालू आर्थिक वर्षको ६ महिनामा १४ दशमलव ५ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जा १४ दशमलव ३ प्रतिशत रहेको थियो । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित ट्रस्ट रिसिट कर्जा ५० दशमलव ५ प्रतिशतले वृद्धि भई ९७ अर्ब १४ करोड रुपैयाँ वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६ दशमलव ४ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित हायर पर्चेज कर्जा ७ दशमलव शून्य प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा ९ दशमलव ६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यसैगरी, रियल स्टेट कर्जा ९ दशमलव ५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११ दशमलव ९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव ९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ११ दशमलव ५ प्रतिशत, विकास बैंकहरूको १६ दशमलव ६ प्रतिशत र वित्त कम्पनीहरूको ४ दशमलव २ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७ दशमलव २ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग बढेको राष्ट्र बैंकले जनाएको छ । २०७४ पुस मसान्तसम्ममा १३ अर्ब २१ करोड रुपैयाँ पुनरकर्जा लगानीमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यसैगरी, भूकम्पपीडितहरूलाई बढीमा २ दशमलव शून्य प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गरिने सहुलियत दरको कर्जा पुस मसान्तसम्ममा १ अर्ब १२ करोड रुपैयाँ उपयोग भएको छ ।

त्यसैगरी, पुस मसान्तसम्ममा ५ दशमलव शून्य प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार २०३ जनाले उपयोग गरेका छन् । यसअन्तर्गत ६ अर्ब ९१ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ भने ३३ करोड ७३ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।