नेपालले क्यानडालाई हराउनै पर्ने दबाब

राजधानी समाचारदाता / काठमाडौं

नेपालले बुधबार आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को आफ्नो अन्तिम खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार दिउँसो १ बजेपछि विन्डहोकस्थित वन्डरस क्रिकेट मैदानमा हुनेछ । मंगलबार आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपाल रन रेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । नेपाल शीर्ष दुईमा रहेर जिम्बावेमा हुने विश्वकप छनोटमा छानिनका लागि बुधबारको खेलमा क्यानडालाई हराउनुपर्ने दबाबमा रहेको छ । क्यानडासँग पराजित भएको खण्डमा नेपाल डिभिजन–२ मै रहनेछ । नामिबियाले यूएईलाई पराजित गरे विश्वकप छनोटका लागि छानिनेछ भने, यूएईले नामिबियालाई पराजित गरे राम्रो नेट रनरेट हुने टोली शीर्ष दुईमा रहनेछ । क्यानडा, नामिबिया र नेपालको ४ खेलबाट समान ६ अंक रहेको छ ।

डिभिजन–२ भन्दा अघि बढ्न बलिङ र फिल्डिङमा उच्च प्रदर्शन गरिरहेको नेपाली खेलाडीको ब्याट अझ सशक्त चल्नैपर्ने हुन्छ । चार खेलमध्ये नेपालका एकाध खेलाडीबाहेक अन्य खेलाडी ब्याटिङमा जम्न सकेका छैनन् । कप्तान पारस खड्काले यूएईविरुद्धको खेलमा ५१ रन र केन्याविरुद्धको खेलमा ४२ रन बनाउँदा, केन्याविरुद्धको खेलमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र आरिफ शेखले ४७ र ४२ रन बनाउनुबाहेक नेपालको ब्याटिङ प्रदर्शन निकै फितलो छ ।

युवा खेलाडीहरूको बाहुल्य रहेको क्यानडाले डिभिजन–२ मा उच्च प्रदर्शन गरिरहेको छ । क्यानडाले आफ्नो पहिलो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा यूएईलाई २३ रनले पराजित गर्दा केन्यालाई ५९ रनले पराजित गरेको थियो । नामिबियासँग भने १७ रनले पराजित भएको थियो । चारै खेलमा पराजित भएको केन्या भने डिभिजिन–३ मा घटुवा भएको छ ।

हेड टु हेड

एक दिवसीय क्रिकेटमा नेपाल र क्यानडाले मात्र दुई खेल खेलेका छन् । दुवै टोलीले समान १–१ खेल जितेका छन् । २०१४ को विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर २०१५ को डिभिजन–२ मा नेपालले बदला लिँदै क्यानडामाथि ७ विकेटको जित दर्ता गराएको थियो । यस्तो अवस्थामा दुवै टोली इतिहास आफ्नो पक्षमा पार्ने लक्ष्यसहित बुधबार मैदान उत्रनेछन् ।