एपीएफलाई उपाधि

चिवतन / रास– घरेलु भलिबल प्रतियोगिताको सबैभन्दा सफल विभागीय टोली नेपाल एपीएफ क्लबले चितवनको पटिहानीमा भएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । योसँगै एपीएफले राजधानीमा सम्पन्न प्रथम न्यु डायमन्ड कपको फाइनलमा हारको बदला लिएको छ । एपीएफको यो पछिल्लो दुई सातामा तेस्रो प्रतियोगिता खेल्दै दोस्रो उपाधि जितेको हो । २० माघमा ढोरपाटन डबल लिग जितेको एपीएफ शिवम् न्यु डायमन्ड कपमा भने चुकेको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट एपीएफले २९–२७ को संघर्षपूर्ण जित निकालेको थियो । त्यसपछि उत्कृष्ट प्रदर्शन गरेको एपीएफले दोस्रो र तेस्रो सेट क्रमशः २५–१६ र २५–२१ ले आफ्नो पक्षमा पा¥यो । नेपाल आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीमाथि २५–१६, २५–१९ र २५–२० को सहज जित निकाल्यो । उपाधि जितेको एपीएफले २ लाख रूपैयाँ प्राप्त ग¥यो । दोस्रो बनेको न्यु डायमन्डले १ लाखमा चित्त बुझायो ।