वीरगन्ज सेमिफाइनलमा

कृष्ण सिग्देल / सिमरा (बारा)

सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेलबाट डिफेन्डिङ च्याम्पियन संकटा बाहिरिएको छ । संकटा क्लबलाई १–० ले पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । वीरगन्ज युनाइटेडका लागि खेलको १६औं मिनेटमा अमर डंगोलले निर्णायक गोल गरेका थिए । विशाल राईको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले सम्हाल्न नसक्दा रिबाउन्ड भएको बललाई भली गर्दै डंगोलले आकर्षक गोल गरेका थिए । झन्डै ७ हजार घरेलु दर्शकको समर्थन पाएको वीरगन्ज युनाइटेडले पहिलो हाफमा संकटालाई दबाबमा राख्यो ।

दोस्रो हाफमा लयमा फर्किएको संकटाले थुप्रै मुभ सिर्जना गरे पनि सदुपयोग गर्न चुक्यो । वीरगन्ज युनाइटेडको जितमा निर्णायक गोल गरेका कप्तान अमर डंगोल खेलको २४औं मिनेटमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । डंगोलले सेमिफाइनलसमेत गुमाउन सक्ने वीरगन्ज युनाइटेडका प्रशिक्षक सुलभजंग राणाले बताए । वीरगन्ज युनाइटेडको जितपछि सिमरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि वीरगन्ज युनाइटेडले बिहीबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबले मोरङ फुटबल क्लब विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

पराजयपछि साबिक विजेता संकटाका प्रशिक्षक सल्यान खड्गीले टिम सेट नहुँदै खाएको गोल फर्काउन नसक्नु दुर्भाग्य भएको बताए । पहिलो हाफमा गोल खाए पनि दोस्रो हाफमा थुप्रै अवसर गुमाएका कारण पराजय भोग्नु परेको बताए । वीरगन्ज युनाइटेडका प्रशिक्षक सुलभजंग राणाले संकटाजस्तो शक्तिशाली टिमलाई पराजित गर्न गर्न सक्नु सुखद अवसर भएको बताए ।