सवारी नियम उल्लंघन गर्नेमा ट्रक अगाडि

राजधानी संवाददाता / वीरगन्ज

सवारीसाधनहरूमध्ये सबैभन्दा बढी सवारी नियमको उलंघन गर्नेमा ट्रक अगाडि रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको त्रिवर्षीय सवारी कारबाहीबाट यो कुरा बाहिर आएको हो ।

गत तीन आर्थिक वर्षको त्रिवर्षीय सवारी कारबाहीको तथ्यांकमा हरेक वर्ष ट्रकको नै संख्या अगाडि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्रिवर्षीय तथ्यांकमा सबैभन्दा बढी गत आर्थिक वर्ष आव २०७३÷७४ मा मात्रै २३ हजार ४ सय ५२ वटा ट्रकले सवारी नियम उलंघन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुरेशकुमार शाहले बताए ।

सवारी नियम उलंघन गरेको मोटरसाइकलको संख्या भने गत आव २०७३÷७४ मा ७ हजार ९ सय ६५, आव २०७२÷७३ मा ५ हजार ५ सय ९२ र आव २०७१÷७२ मा भने सबैभन्दा बढी अर्थात् १० हजार ४ सय ४ रहेको छ ।

सवारी नियम उलंघन गर्ने दोस्रो स्थानमा परेको मोटर साइकलपछि तेस्रो नम्बरमा परेका टेम्पोको संख्या बढी छ ।त्यस्तै, चौथोमा ट्याक्टर, पाँचांैमा बस र छैटौंमा जिप, कार र भ्यान रहेको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

सवारी नियम उलंघन नहोस् भनी ट्राफिक प्रहरीले निगरानी बढाउँदा कारबाहीमा परेका ट्रकबाट मात्र आव २०७३÷७४ मा मात्रै कुल १ करोड ३५ लाख ३७ हजार ५०० राजस्वसमेत संकलनभएको थियो ।

ट्रकहरूले ओभर लोड बोक्दा कारबाहीमा बढी परेकाले संख्यात्मक रूपमा पनि सवारी नियमको उलंघन गर्ने ट्रकहरू बढी देखिएको पर्साका ट्राफिक प्रमुख शाह बताउँछन् । सवारी कारबाहीमा संकलन भएको राजस्वमध्ये सबैभन्दा बढी राजस्वको भार ट्रकबाट उठेको छ ।