निगमले ल्यायो थप दुई चिनियाँ विमान

मधुजंग पाण्डे / काठमाडौं

मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुईवटा नयाँ चिनियाँ वाई–१२ सिरिजका विमान काठमाडौं भिœयाएको छ । हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई–१२ विमानको क्षमता १९ सिटको रहेको छ । नयाँ विमानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ९एनएकेयू र ९एनएकेभी कोर्ड नम्बर दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ट्राफिक कन्ट्रोल शाखाका प्रमुख सीताराम भण्डारीले निगमले काठमाडांै ल्याएका नयाँ दुईवटा वाई–१२ सिसिजका विमान मंगलबार दिउँसो क्रमशः १ बजेर २१ मिनेट र १ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरिएको जानकारी दिए ।

मंगलबार ल्याइएका दुई चिनियाँ विमानसँगै अब निगमले आठवटा विमानमार्फत आन्तरिक उडान सेवा सञ्चालन गर्न सक्नेछ । यससँगै निगमसँग वाई–१२ विमानको संख्या पनि चार पुगेको छ । अब निगमसित आन्तरिक उडानका लागि दुईवटा एमए–६०, चारवटा वाई–१२ र दुईवटा ट्विनअटर गरी जम्मा आठवटा विमान भएका छन् । वाई–१२ विमान उडानका लागि निगमसँग दुई जना मात्रै चालक छन् । चारवटा वाई–१२ विमानका लागि कम्तिमा १० जना चालक चाहिन्छ । चालक अभावकै कारण यसअघि ल्याइएका दुई वाई–१२ सिरिजका नयाँ विमानले पनि अझैसम्म उडान भर्न सकेका छैनन् ।

२०६९ सालमा नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले यी नयाँ विमान ल्याएको हो । सो सम्झौताअनुसार ६ वटामध्ये चारवटा विमान यसअघि नै आइसकेका थिए । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार ६ वटामध्ये दुई अनुदानमा र चारवटा सहुलियत ऋणमा ल्याउने सम्झौता छ । जसमध्ये एउटा एमए–६० र एक वाई–१२ विमान चिनियाँ अनुदानका हुन् । अहिले निगमको एक ट्विनअटरले नियमित रूपमा उडान गरिरहे पनि एउटा ट्विनअटर भने मर्मतमा रहेको छ ।

आन्तरिक उडान भर्न चालक अभाव 

सोही सहमतिअनुसार निगमले २०७१ सालको वैशाखमा पहिलो एमए–६० विमान ल्याएको थियो । सोही वर्षको कात्तिकमा निगमले पुनः अर्को वाई–१२ विमान ल्याएको थियो । त्यसबेला निगमले पहिलोपटक ल्याइएका दुवै नयाँ चिनियाँ विमान अनुदानमा प्राप्त भएका थिए । त्यसपछि निगमले २०७३ सालमा एमए–६० र वाई–१२ विमान ल्याएको थियो । एउटा एमए ६० र तीनवटा वाई–१२ सिरिजका विमानमा सरकारले करिब पौने ४ अर्ब रुपैयाँ खर्च गरेको छ । तर, वाई–१२ विमान कहाँ उडान भर्ने भन्ने बारेमा निगमले अहिलेसम्म कुनै व्यावसायिक योजना र उडान तालिका बनाएको छैन । आन्तरिक उडानमा पनि उच्च दुर्गम क्षेत्रमा उडान भर्न सकिने विमानबाट निगमले अहिले काठमाडौंलाई आधार बनाएर भैरहवा, पोखरा र सिमरामा नियमित व्यवसायिक उडान भर्दै आएको छ । निगमलाई सरकारले जबर्जस्ती वाई–१२ विमान खरिद गर्न  बाध्य गराएको निगम स्रोतको दाबी छ । वाई–१२ सिरिजका विमान खर्चले निगमलाई आम्दानीभन्दा खर्च मात्रै बढी गराएको छ ।

नयाँ विमान ल्याएको बेला निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले उच्च दुर्गम क्षेत्रमा उडान गर्ने बताइरहे पनि उडान हुन सक्ने अवस्था छैन । यसअघि निगमले आवश्यक चालकका लागि विज्ञापनसमेत गरेको थियो । नयाँ विमानबाट उडान सुरु भएपछि निगमले अहिले उडान भरिरहेको गन्तव्यमा थप उडान भर्ने र दुर्गममा पनि उडान सुरु गर्ने बताउँदै आएको छ । यसैगरी, निगमले यसै वर्ष अन्तर्राष्ट्रिय उडानका लागि करिब २२ अर्ब रुपैयाँ लगानीमा दुईवटा वाइड बडी विमान ल्याउने बताएको छ । नयाँ विमानसँगै निगमसित अन्तराष्ट्रिय उडानका लागि एउटा बोइङ, दुईवटा एयरबस र दुईवटा विमान हुनेछन् ।