पाथीभरा पर्यटन महोत्सव सुरु

ताप्लेजुङ / रास– पूर्वी नेपालको ताप्लेजुङमा पाथीभरा पर्यटन महोत्सव २०७४ सुरु भएको छ । प्रसिद्ध धार्मिक स्थल पाथीभराको प्रचारप्रसार गर्ने उद्देश्यले मंगलबारदेखि तीन दिनसम्म महोत्सव सञ्चालन हुने आयोजकले बताएका छन् ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा पाथीभरा देवीमन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति, नयाँ रणभीम गुल्म, फुङलिङ नगरपालिकालगायतको आयोजनामा आयोजित महोत्सव बिहीवारसम्म चल्नेछ ।

सदरमुकाम फुङलिङको नयाँ रणभीम गुल्मअगाडि परेवा उडाएर महोत्सवको सुभारम्भ गरिएको हो । प्रदेशसभा सांसद प्रतापप्रकाश हाङगाम, जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन, मेयर छत्रपती प्याकुरेल र प्रमुख जिल्ला अधिकारी मोहन जीसीले परेवा उडाएका थिए । आयोजना स्थलदेखि सिद्धिडाँडा हुँदै पुनः नयाँ रणभीम गुल्ममा आएर कलशयात्रा समापन

भएको थियो । अन्तिम दिन सदरमुकामदेखि पाथीभरा हुँदै सदरमुकामसम्म खुला म्याराथन तथा सदरमुकामदेखि भालुगौडे हुँदै सदरमुकामसम्ममा म्याराथन प्रतियोगिता पनि हुनेछ । जातीय झाँकी, प्याराग्लाइडिङ, खाद्य परिकार, गाउँपालिका स्तरीय भलिबल प्रतियोगितालगायतका कार्यक्रम महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका छन् ।

महोत्सवमा उद्योग र कृषि मेला प्रदर्शनी पनि राखिएको छ । उद्यमीले तयार पारेका राडीपाखी, खुकुरी, कलात्मक वस्तु, हातले बनाइएका फूल राखिएको छ भने कृषि मेलामा किसानले उत्पादन गरेका कृषि उपज ल्याइएको छ । यसअघि लगातार चार वर्ष भएको महोत्सव पुनः चार वर्ष स्थगित गरिएको थियो । म्याराथनको प्रायोजन भने हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन ग्रुपका प्रबन्धक ईश्वरी पौडेलले गर्दै आएका छन् । यो वर्ष ४ लाख ६५ हजार रुपैयाँ म्याराथनको पुरस्कार राशिमा मात्रै खर्च हुनेछ ।