आन्तरिक विमानस्थल निर्माणकार्यमा तीव्रता

राजधानी संवाददाता / उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका–२ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण कार्यले तीव्रता पाएको छ । प्रस्तावित सगरमाथा विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदनलाई जनसंख्या तथा वातावरण मन्त्रालयले प्रधानमन्त्री स्तरीय निर्णय गरी स्वीकृति दिएपछि सो आयोजना निर्माणले गति लिएको हो ।

एक वर्षपहिले नै नेपाल नागरिक उड्डययन प्राधिकरणका परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्राइभेट लिमिटेडले तयार पारेको करिब ८ सय पृष्ठ लामो अध्ययन प्रतिवेदनमा स्थानीयले राय सुझाव दिएका थिए । तर, सम्बन्धित मन्त्रालय र सरोकारवाला अन्य निकायबाट थप गहन अध्ययन र विश्लेषण गरी निर्णय गर्ने भनी आनाकानी गरिरहेको बेला जनसंख्या तथा वातावरण मन्त्रालयको चालू आवको ७ माघमा प्रधानमन्त्रीस्तरीय निर्णयबाट वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदनलाइ स्वीकृति प्रदान गरेकाले प्रस्तावित विमानस्थल निर्माण हुने निश्चित भएको हो ।

विमानस्थल निर्माणको सपना बोकेका उदपुरवासीका लागि चार दशक लामो सपनाले साकार रूप लिन लागेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । विमानस्थल निर्माणको परामर्श दाता प्याक्ट नेपालका डा. महेन्द्रनाथ सुवेदीले प्याक्ट कन्सल्ट्यान्टले विगत करिब दुई वर्षको समय खर्चेर सर्वेक्षण एवं स्थलगत अध्ययन गरी त्यसबाट हुने राम्रो र नराम्रो दुवै पक्षको मूल्यांकनसहितको प्रतिवेदन तयार गरिएको जानकारी दिए ।

डा. सुवेदीका अनुसार वातावरणीय प्रभाव मूल्यांकन ईआईए गर्नुको औचित्य, प्रस्तावित आयोजना, वर्तमानको वातावरणीय अवस्था, भौतिक वातावरण, जैविक वातावरण, सामाजिक, आर्थिक, सांस्कृतिक वातावरण, वातावरणीय प्रभावको वैकल्पिक विश्लेषण, वातावरणीय न्यूनीकरणका उपाय र प्रचलित ऐन नियमहरूसमेतको सूक्ष्म अध्ययन गरी सो प्रतिवेदन तयार पारिएको हो ।

नेपाल नागरिक उड्डययन प्राधिकरणका इन्जिनियर सत्यनारायण दुलालले एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड निर्माण गर्ने सरकारको घोषित नीतिअनुसार नै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– २ जोगिदहमा एटीआर ७२ डिजाइनको जेटस्टिम एभ्रो विमान उडान र अवतरण गर्न सक्ने विमानस्थल बनाउन लागिएको स्पष्ट पारे ।

उनका अनुसार १ हजार ७५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग, २ सय मिटर लामो र ६० मिटर चौडाइको एप्रोनसहितको टर्मिनल भवन, कर्मचरी भवन र ट्याक्सी वे दुईवटा समेतका लागि करिब १५६ हेक्टर वन क्षेत्रको जग्गा अधिकरण गरिनुपर्ने बताए ।

वर्षाको समयमा कुहिरो नलाग्ने तथा हिउँदको समयमा हुस्सू पनि नलाग्ने यहाँको प्राकृतिक वातावरण अत्यन्त राम्रो भएकाले बाह्रै महिना विमान उडान र अवतरणमा मौसमको कुनै प्रतिकूलता नहुने हुँदा यो विमानस्थल निर्माण भएपछि काठमाडांैबाट पूर्वी नेपालको जनकपुर, विराटनगर, भद्रपुर, खोटाङ, भोजपुर र सोलुखुम्बुलगायतका पहाडी जिल्लामा रहेका विमानस्थलको हबका रूपमा टच फ्लाइट समेत हुन सक्ने सम्भावना रहेको इन्जिनियर दुलालले जानकारी दिए ।

जनकपुर, विराटनगर, भद्रपुर, खोटाº, भोजपुर र सोलुखुम्बुलगायतका पहाडी जिल्लामा रहेका विमानस्थलको हब बन्न सक्ने

तत्कालीन गृह सहायकमन्त्री नरसिंहभक्त तुलाचनले २०३१ सालमा पहिलोपटक गाईघाटको विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । त्यसपछि कुनै काम हुन नसकेपछि विगत लामो समयदेखि उदयपुरमा विमानस्थल निर्माण हुन सकेको थिएन ।

सदरमुकाम गाईघाटदेखि १२ किलोमिटरको दूरीमा रहेको त्रियुगा नगरपालिका–२ जोगिदहस्थित सिमलटार क्षेत्रमा स्थानीय मोथियाही सामुदायिक बन उपभोक्ता समिति र कङ सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा १०५ बिघा खाली जमिन विमानस्थल निर्माण गर्ने प्रयोजनका लागि नागरिक उड्यन प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएका थिए ।

सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रकुमार बस्नेतले उदयपुरमा विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डययन प्रधिकरणले २०७१ मा परिपत्र गरी आवश्यक जग्गा व्यवस्था गर्न, वन क्षेत्रको सहमति लिन, कुल लागतको तीन प्रतिशत खर्च जुटाउन र सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको बताए ।

अध्यक्ष बस्नेतले प्रस्तावित विमानस्थलनजिकै नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा रहेकाले सुरक्षाको कुनै चिन्ता नभएको र यो ठाउँ सगरमाथाको फेदीमा रहेकाले दोलालघाटदेखि चताराघाटसम्म सुनकोसीमा ¥याप्mटिङ गर्न आउनेदेखि लिएर कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्ना हेर्न आउने पर्यटकहरूका लागि निकै सहज हुने बताए ।

पर्वतीय उडानको समेत प्रचुर सम्भावना रहेको र यसका लागि १ करोड रुपैयाँ बजेटसमेत यसअघिकै सरकारले विनियोजन गरे पनि अहिलेसम्म ईआईए प्रतिवेदन स्वीकृति नहुँदा त्यो रकम पनि खर्च हुन नसकिरहेको अवस्थामा प्रतिवेदन स्वीकृतका कारण निर्माणले गति लिने हो कि भन्ने लागेको निर्माण समितिका सचिव परमेश्वरघिमिरेले बताए ।

पूर्व पश्चिमको धावन मार्ग भएको तथा उडान र अवतरणका बेला कुनै पहाडले छेक्न नसक्ने भूबनोट रहेकाले आकस्मिक अवतरण गर्न समेत सक्ने तथा सगरमाथाका खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका विमानस्थलमा मौसमी समस्या आउँदा यहाँ अवतरण गर्न सक्ने हबका रूपमा विकास गर्न सकिने डिजाइनमा संलग्न इन्जिनियर राजीव बराल बताउँछन् ।