प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त, सपथ ग्रहण भोलीे

सुजीतकुमार झा

जनकपुरधाम, फागुन २

संघिय समाजवादी फोरमका संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि आज नियुक्ति गरिएको छ । जनकपुर चुरोट कारखानाको प्रागंणमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज विहान साढे साढे ११ बजे मुख्यमन्त्रीको पत्र दिइएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल क्यास्थले सो पत्र दिनु भएको छ । राजपाको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन, जुन बहुमत हो ।

भोली जचुकालिकै प्रागंणमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । सपथ ग्रहण भोली अपरान्ह साढे १२ बजे सपथ ग्रहण हुनेछ । मन्त्रीमण्डलको सपथपनि भोली नै राखिएको छ ।

२०२३ असार १५ गते पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका ४ जगरनाथपुरमा जन्मिएका राउत किसान परिवारबाट राजनीतिमा उदाएका नेता हुन् । दोस्रो संविधानसभामा समानुपातिक सभासद् बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए । उनी पर्सा १ ‘ख’ मा विजयी भएका थिए ।

अहिले उनी वीरगञ्ज महानगर १३ तेजारथ टोलमा बस्छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राउतले कानुनमा स्नातक पनि गरेका छन् । पढाइपछि अस्थायी प्राध्यापकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसमा १० वर्ष अध्यापन गरे ।

उहाँलाई चिन्ने अधिकांशले ‘लालबाबु सर’ भनेर बोलाउनुको कारण पनि अध्यापनसँग उनको दशक लामो नाता हो ।

वीरगञ्ज नगरपालिकामा १५ वर्ष काम गरेका उनले २०७० सालको संविधानसभा निर्वाचनअघि जागिर छाडे र राजनीतिमा आएका थिए । उपेन्द्र यादवका अत्यन्त नजिक व्यक्तिका रुपमा चिनिन्छ । प्रदेश नम्बर २ मा लालबाबु राउतलाई ल्याएर माय कम्बिनेशन बनाएको चर्चा रहेको छ । मुस्लिम र यादवको कम्बिनेशन भारतको उत्तरप्रदेशमा मुलायमसिंह यादवले र विहारमा लालुप्रसाद यादवले बनाएर वर्षो शासन गरेका छन ।

धार्मिक पर्यटनलाई बढावा दिनेः लालबाबु

प्रदेश नम्बर २ मा मुख्यमन्त्री नियुक्त भएका मोहम्मद लालबाबु राउतले प्रदेशमा धार्मिक पर्यटनलाई बढावा दिने बताउनुभएको छ । राजधानीसँग कुरा गर्दै उहाँले भन्नुभयो प्रदेशमा जानकी मन्दिर,गढीमाई, सखडा, जलेश्वरनाथ मन्दिर पर्यटनको ठूलो केन्द्र रहेको छ । यो मन्दिहरुलाई व्यवस्थित गरी संसारवाट पर्यटक ल्याउने आफूहरुको योजना रहेको बताउनु भयो ।

साथै कृषि क्षेत्रको विकासका लागि आफू नयाँ योजना ल्याउने बताउनुभयो । प्रदेश २ को उत्पादनले पूरे देश चलाउने क्षमता रहेको बताउँदै राउतले सिंचाई र मालखादको मात्र सहज आपूर्ति भयो भने उत्पादन बढाउन कुनै समस्या नरेको दाबी गर्नुभयो । कृषिसँग जोडिएको उद्योग स्थापना गर्नुपनि आफूहरुको चाहना रहेको उहाँको कथन थियो ।