क्यानडामाथि रोमाञ्चक जित , नेपाल विश्वकप छनोटमा

दिल तामाङ / काठमाडौं

तल्लो क्रमका ब्याट्सम्यान करन केसीले चामत्कारिक ब्याटिङ गरेपछि नेपाल सन् २०१८ मा जिम्बावेमा हुने एक दिवसीय विश्वकप क्रिक्रेट छनोटका लागि
छानिएको छ ।  आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को क्यानडाविरुद्धको अन्तिम तथा विश्वकपमा छनोट हुन जित्नै पर्ने खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित निकालेपछि नेपाल एक दिवसीय विश्वकपको छनोटका लागि छानिएको हो । यससँगै नेपाल ५ खेलमध्ये ४ खेलमा जित हात पार्दै ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
यस्तै आयोजक नामिबियालाई १९ रनले पराजित गर्दै यूएई पनि विश्वकपका लागि छनोट भएको छ । नेपाल र यूएईले बिहीबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नामिबिया विन्डहोकस्थित वन्डरस क्रिकेट मैदानमा बुधबार भएको खेलमा क्यानडाले दिएको १९४ रनको लक्ष्य नेपालले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर पूरा ग¥यो । तल्लो क्रमका ब्याट्सम्यान करन केसीले नटआउट ४२ रनको आक्रामक इनिङ्स खेलेपछि नेपालले क्यानडालाई १ विकेटले पराजित गर्न सफल भएको हो ।
जितका लागि अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा ८ रन नै जोड्न सफल भयो । अन्तिम विकेटका लागि करन केसी र सन्दीप लामिछानेले ५१ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए ।
आक्रामक इनिङ्स खेलेका करनले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन जोडे । सन्दीप ५ रनमा नटआउट रहे । यसअघिका खेलमा जस्तै नेपालले क्यानडाविरुद्धको खेलमा पनि सुरुवाती ब्याटिङ राम्रो गर्न सकेन ।
ओपनर दिलिपनाथले ४१ रनको योगदान दिए । अघिल्ला तीन खेलमा कमजोर ब्याटिङ गरेका विकेटकिपर ब्याट्सम्यान दिलिपनाथले ४१ रनको योगदान दिए । ६८ बल खेलेका नाथले ५ चौका प्रहार गरे । रोहितकुमार पौडेल २७ तथा आरफल शेख २६ रनमा आउट भए । ओपनर दिलिपनाथ र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भएपछि नेपालको विकेट पतन रोकिएन । छैटौ विकेटका लागि रोहित र आरिफले ४६ रनको साझेदारी गरे । सोमपाल कामी ७ रनमा पभेलियन फर्किए । ओपनर ज्ञानेन्द्र मल्ल ९ रनमा पभेलियन फर्कंदा कप्तान पारस खड्का गोल्डेन डक आउट भए ।

जिम्बावेमा मार्च महिनामा हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट आएका शीर्ष ४ टोली, डिभिजन–२ का शीर्ष दुई टोली र आईसीसी एकदिवसीय च्याम्पियनसिप खेल्ने ४ टोलीले सहभागिता जनाउनेछन् ।
एकदिवसीय मान्यता पाएका शीर्ष १२ टोलीमध्ये पुछारमा रहेका ४ टोली वेस्टइन्डिज, अफगानिस्तान, जिम्बावे र आयरल्यान्ड पनि विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् । विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट शीर्ष २ मा रहँदै सन् २०१९ को विश्वकप छनोटका लागि नेदरल्यान्ड र पपुवा न्युगिनी छनोट भइसकेका छन् ।  यस्तै स्कटल्यान्ड र हङकङ पनि विश्वकप छनोटका लागि छानिएका छन् ।

शरद भेषवाकर १ रनमा पभेलियन फर्किए । क्यानडाका सिसी परवेजले ३ विकेट लिए । निखिल दत्त र साद विन जफरले समान २–२ विकेट लिए । सत्सिमरन्जित ढिन्सा र डिलोन हेलिगरले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेट गुमाएर ओपनर श्रीमन्थ विजेरत्नेको १०३ रनको नटआउट इनिङ्समा १९४ रन बनाएको थियो ।
विजेरत्नेबाहेक क्यानडाका अन्य ब्याट्सम्यान क्रिजमा धेरै समय टिक्न सकेनन् । उच्च लयमा रहेका रुभिन्दु गुनसेकरा र कप्तान नितिश कुमार पनि सस्तैमा आउट भए । हाम्जा तरिकले २४ जोडे । सत्सिमरन्जित ढिन्सा १८ रनमा अविजित रहे । सादविन जफर १० रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । वसन्त रेग्मीले महŒवपूर्ण समयमा ३ विकेट लिए ।
चोट लागेका सन्दीप लामिछानेले २ विकेट लिए । चोट लाग्नुअघि ५ ओभरमा ७ रन खर्चेका सन्दीप चोटपछि मैदान फर्कंदा केही महँगा साबित भए । करन केसी र शरद भेषवाकरले समान १–१ विकेट लिए ।