कुवेतद्वारा अवैध कामदारका लागि आममाफीको समय थप , थप दुई महिना मौका

मधुजंग पाण्डे / काठमाडौं

कुवेत सरकारले गैरकानुनी (अवैध) रूपमा बसेका आप्रवासी कामदारलाई आममाफी दिने समय पुनः थपेको छ । यसअघि कुवेत सरकारले गत १५ माघमा गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारलाई आममाफी दिने निर्णय गरेको थियो । कुवेत सरकारले गरेको सो निणर्यको अन्तिम समयावधि गत १० फागुनमा समाप्त भएपछि अहिले आममाफीको समय पुनः आगामी दुई महिनाका लागि थप गरिएको हो ।

पुनः थप गरिएको आममाफी दिने अवसरको अन्तिम म्याद आगामी २२ अप्रिलसम्म रहेको छ । कुवेत सरकारले आफ्नो मुलुकमा रहेका अवैध कामदारका लागि निकै लचकता अपनाएर पुनः आममाफी दिने समय थप्ने निर्णय गरेको हो ।

कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाता कम्पनीबाट भागेर अर्को रोजगारदाता कम्पनीमा पुगेर काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएका आप्रवासी कामदारले अहिले पुनः थपिएको समयावधिभित्र आफ्नो कानुनी प्रक्रिया पूरा गरी वैध हुन पाउनेछन् । कुवेत सरकारले आम माफीको अन्तिम समयावधि आगामी दुई महिनासम्म बढाएपछि नेपाली दूतावासले पनि विज्ञप्ति जारी गरेर आफ्ना नागरिकलाई पनि सूचित गरेको जनाएको छ ।

कुवेतले लागू गरेको यस आममाफीको मौका प्रक्रिया भिसाको म्याद गत २४ जनवरीअघि समाप्त भएका एवं २४ जनवरीभन्दा अघि नै रोजगारदाता कम्पनीले भागेको उजुरी गरेका कम्पनी तथा घरमा काम गर्ने कामदारका हकमा मात्र लागू हुनेछ । तर, गत २४ जनवरीपछि भिसाको म्याद समाप्त भएका तथा २४ जनवरीभन्दा पछि रोजगारदाता कम्पनीले भागेको उजुरी गरेका कामदारको हकमा आममाफी लागू नहुने दूतावासले जनाएको छ ।

यसैगरी, बैंक एवं वित्तीय संस्थाबाट ऋण लिएर वा मोबाइल फोनलगायतका सामानहरू किस्ताबन्दीमा लिएबापत सम्बन्धित कम्पनीमा तिर्नुपर्ने रकम नतिरेको कारण यात्रा निषेध आदेश जारी भएकाहरू भने यस अवधिभित्र सो मुद्दा छिनोफानो गरी प्रक्रिया पूरा गरेर नेपाल फर्कन पाउनेछन् । यसैगरी, दूतावासबाट जारी गरिएको यात्रा अनुमतिपत्रको समयावधि तीन महिना उल्लेख भए पनि आममाफी प्रक्रियाअन्तर्गत नेपाल फर्किन यात्रा अनुमतिपत्र लिएका व्यक्ति भने आगामी २२ अप्रिलभित्र नेपाल फर्किसक्नुपर्ने उल्लेख गरिएको छ ।

कुवेतले १५ माघमा गैरकानुनी रूपमा बसेका कामदारलाई आममाफी दिने निर्णय गरेकोमा सो निर्णयको अन्तिम समयावधि १० फागुनमा समाप्त भएपछि अहिले आममाफीको समय थप गरिएको छ

यसअघि कुवेत सरकारले गत १५ माघमा गैरकानुनी (अवैध) रूपमा बसेका कामदारलाई आममाफी दिने निणर्य गरेको थियो । कुवेत सरकारले गरेको सो निणर्यको अन्तिम समय अवधि पनि गत १० फागुनमा समाप्त भएपछि अहिले आममाफीको समय पुनः आगामी दुई महिनाका लागि थप गरेको हो । कुवेत सरकारले यसअघि निकै लचकदार भएर अवैध कामदारको हितमा निश्चित समयका लागि आफ्नो मुलुकमा बस्ने आप्रवासीहरूलाई आममाफी दिने निर्णय गरेको थियो ।

कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्काे रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाहरूलाई कुवेत सरकारले पुनः आममाफी दिने समय बढाएको हो ।

विभिन्न कारणले अवैध भएका कामदारका लागि गत बिहीबारसम्म जरिवाना नतिरी स्वदेश र्फकन वा जरिवाना तिरी वैध हुने अवसर कुवेत सरकारले दिएको थियो । त्यसबेला कुवेत सरकारले आममाफीको निर्णय गरेपछि नेपाली राजदूतावास पनि कुवेतले गैरकानुनी भएर बसेका नेपाली कामदारलाई तोकिएको अवधिभित्रै सहजीकरणका लागि दूतावासमा सम्पर्क गर्न सूचित गरेको थियो ।

कुवेतको सो निणर्यपछि नेपाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्कन यात्रा अनुमतिपत्र तथा अन्य परामर्श प्रदान गर्न हरेक दिन बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको थियो । दूतावासले शुक्रबार र शनिबार पनि कार्यालय खुला गरी सेवाग्राहीलाई सो सेवा दिने जानकारी गराएको थियो ।

नेपाली दूतावासले यस आममाफी अवधिमा स्वदेश नफर्कने र कुवेत बस्नका लागि वैध नहुने व्यक्ति कुवेती प्रहरीद्वारा पक्राउ परेमा डिपोर्ट (निर्वासित) हुने र त्यस्ता व्यक्ति गल्फ कर्पाेरेसन काउन्सिल (जीसीसी)का देशहरू बहराइन, कुवेत, ओमन, कतार, साउदी अरेबिया, यूएईमा पुनः आउन नसक्ने समेत जानकारी गराएको थियो ।