भैरहवामा ओम विकास बैंक

काठमाडौं / रास– ओम डेभलपमेन्ट बैंकले रूपन्देहीको भैरहवामा शाखा विस्तार गरेको छ । सो शाखाको नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक अशोककुमार पौडेलले भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकका तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गर्दै उद्घाटन गरेका हुन् ।

बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार र एटीएम संख्या ११ रहेको छ । बैंकले ग्राहकलाई निःशुल्क सी–आस्बा सेवालगायतका बिनाधितो १५ लाखसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइराखेको पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले सेयरधनीलाई १७ दशमलव ६९ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेको छ । २५ फागुनमा पोखरामा हुने वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेपछि वितरण हुने बैंकले जनाएको छ ।

हालसालै बैंकले जर्मनीको केएफडब्लू बैंकसँग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गर्नका लागि सम्भौता गरी कर्जा लगानी सुरु गरिरहेको बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।