शंकर ग्रुप र स्टारलिंगर कम्पनीको सम्मेलन

काठमाडौं / रास– शंकर ग्रुपअन्तर्गतको जगदम्बा सेन्थेटिक्स प्रालिले आफ्नो प्राविधिक स्टारलिंगर एन्ड कम्पनीसँग मिलेर एड स्टार लेमिनेटेड ब्याग्स एन्ड सिमेन्ट प्याकेजिङसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । उक्त प्रविधि सेकेन्ड जेनेरेसन ब्याग्सका रूपमा रहेको छ । यसलाई सन् २०१२ देखि जगदम्बा सेन्थेटिक्सले नेपाली बजारमा ल्याएको हो । उक्त प्रविधिको पहिलो ग्राहक जगदम्बा सिमेन्ट रहेको थियो ।

सिमेन्ट कम्पनीले प्रयोग गर्र्दै आएको साधारण प्याकेजिङमा विभिन्न समस्या रहेका थिए । सिमेन्ट चुहिने, बढी धुलो उड्ने, कामदारलाई स्वास्थ्यमा प्रतिकूल असर पर्ने, चाङ लगाउन गाह्रो हुने, लोड अनलोड गर्न गाह्रो हुनुका साथै ३ देखि ४ किलो कम हुने गरेकोमा एड स्टार ब्याग प्रयोगपछि यी सबै समस्या स्वतः समाधान हुने भएको छ । यसले ५० केजी तौल भएका सिमेन्टमा शतप्रतिशत तौल ग्यारेन्टी राख्ने काम गर्ने पनि कम्पनीले जनाएको छ ।

उक्त ब्याग प्रयोगबाट धुलो नउड्ने, चिसो तथा पानी नछिर्ने, वातावरणमैत्री र पुन प्रयोग गर्न सकिनेजस्ता फाइदा लिन सकिन्छ । नेपाली सिमेन्ट उद्योगका ठूला कम्पनीका रूपमा रहेका जगदम्बा सिमेन्ट, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र भारतका बिरला, नुभोको तथा एसीसी सिमेन्टले पनि एड स्टार ब्याग प्रयोग गर्दै आएको र आफूहरू पूर्ण रूपमा सन्तुष्ट रहेको अभिव्यक्ति दिएको कम्पनीले बताएको छ ।

अस्ट्रिया, इटाली, भारत, बंगलादेश र चीनबाट आएका विभिन्न व्यक्तिको सहभागिता रहेको उक्त सम्मेलनमा इन्डियन आयलका निर्देशक एके झाले औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए भने शंकर गु्रपका उपाध्यक्ष सुलभ अग्रवाल, स्टारलिंगरका लिन्डर हुमर, नेपाल गुणस्तरका महानिर्देशक विश्वबाबु पुडासैनी र जगदम्बा सिमेन्टका प्रमुख राजेश अग्रवालको सहभागिता रहेको थियो ।