कतार एयरवेजको अस्ट्रेलिया उडान

काठमाडौं / रास– कतार एयरवेजले अस्ट्रेलियाको राजधानी क्यानबेरामा उडान सुर गरेको छ । अस्ट्रेलियन राजदूत पिटर ग्रिमी बड, कतारका राजदूत युसुफ मोहम्मद अल–हायल र कतार एयरवेजका कन्ट्री म्यानेजर जयप्रकाश नैयरको उपस्थितिमा उक्त कार्यको घोषणा गरिएको हो । कन्ट्री म्यानेजर नैयरले एयरवेजको व्यापक विस्तार योजना तथा अस्ट्रेलियामा थप यात्रु ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले क्यानबेरन्सलाई दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट (एचआईए) को माध्यमबाट व्यापक वैश्विक सञ्जालसँग जोड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘

अस्ट्रेलियामा हाम्रो पाँचौं गन्तव्यका रूपमा क्यानबेरामा नयाँ दैनिक उडान सेवा सञ्चालन गर्न पाउँदा उत्साहित छौं, कन्ट्री म्यानेजर नैयरले भने, ‘नयाँ उडान सेवाले अस्ट्रेलियन यात्रुलाई थप सहजता उपलब्ध गराउनुका साथै हमाद इन्टरनेसनल एयरपोर्ट, ट्रान्जिटमार्फत हाम्रो वैश्विक सञ्जालद्वारा व्यापक गन्तव्यको छनोटका लागि समेत सघाउनेमा विश्वस्त छौं ।’

क्यानबेरामा सञ्चालित नयाँ उडान तालिकाले अस्ट्रेलियन महादेशको कार्गो क्षमतामा ६३० टन प्रतिहप्ताभन्दा बढीले वृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ ।

कतार एयरवेजले आफ्नो बोइङ बी७७७ विमानमार्फत क्यानबेराका लागि दैनिक उडान सेवा उपलब्ध गराउनेछ । बी७७७ द्वारा बिजनेस क्लासमार्फत ४२ फ्ल्याटबेड सिट र इकोनोमी क्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।