राहतको बदलामा राहतकर्मीसँग ‘सेक्स’ ! सम्बन्धविच्छेद र एकल महिला निशानामा

दमास्कस/एजेन्सी– सिरियामा जारी गृहयुद्धका क्रममा पीडित भएका महिलामाथि राहत क्याम्पमा समेत यौन शोषण हुने गरेको तथ्य बाहिर आएको छ । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय दातृ संगठनबाट पीडितलाई सहयोग पु-याउन गएका पुरुष राहतकर्मीले नै राहतको बदलामा महिलामाथि यौन शोषण गर्ने गरेका छन् ।

सिरियामा खटिएका राहतकर्मीहरुले नै पुरुष राहतकर्मीले ‘सेक्स’ को बदलामा भोजन दिने गरेको बताएका छन् । यस विषयमा तीन वर्षअघि नै दिइएको चेतावनीका बाबजुद नयाँ रिपोर्टमा सिरियाको दक्षिणी भागमा सबैभन्दा बढी यस्तो समस्या रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघ र अन्य संगठनले भने यो क्षेत्रमा काम गरिरहेका सहयोगी संगठनका विरुद्धमा यस्ता कुनै उजुरी प्राप्त नभएको बताएका छन् । राहतकर्मीले नै महिलामाथि यौन शोषण भइरहेको र त्यसका कारण सिरियाली महिला राहत केन्द्रमा जान अस्वीकार गर्ने गरेको बताएका छन् ।

सिरियामा राहतको नाममा महिलाहरुमाथि यौन शोषण हुँदा समेत मानवअधिकारवादी संगठनहरुले आँखा चिम्लिएको अधिकारीहरुको दाबी छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको एक मूल्यांकनमा राहत सामग्रीको बदलामा महिलामाथि यौन शोषण भइरहेको जनाइएको थियो । संगठनले यो मूल्यांकन गत वर्ष सिरियाका विभिन्न प्रशासनिक इलाकामा गरेको थियो ।

सम्बन्धविच्छेद र एकल महिला निशानामा

‘भ्वाईस फ्रम सिरिया २०१८’ नामको यो रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको छ, यौन शोषणका केही घटनाबारे जिकिर गरिएको छ । रिपोर्टमा भनिएको छ, ‘महिला र युवतीहरु अधिकारीहरुसँग केही समयका लागि विवाह गरिरहेका थिए, ताकी खाने कुरा प्राप्त गर्न सकियोस् । बदलामा उनीहरु महिलासँग सेक्सको प्यास मेट्छन् ।’ महिला र युवतीसँग राहतकर्मीले फोन नम्बर माग्ने गर्छन र पछि घरमा नै पुग्छन् । पति गुमाएका र सम्बन्ध विच्छेद भएका महिलाहरु उनीहरुको निशानामा पर्ने गर्छन् ।

यस प्रकारको पहिलो घटना तीन वर्षअघि बाहिर आएको थियो । सहयोग पु-याउने संगठनका लागि सल्लाहकारको काम गरिरहेका ड्यानिएल स्पेन्सरसँग सन् २०१५ मा जोर्डनमा केही सिरियाली महिलाको समूहले यसबारेमा उजुरी गरेका थिए । राहत अधिकारीहरुले महिलाहरु यौन सम्बन्धका लागि तयार नभएसम्म राहत रोकेर राख्ने गरेको समेत उनले बताएका छन् । उनले भने, ‘मलाई याद छ कि एक महिला कोठामा रोइरहेकी थिइन् । उनीसँग जे भएको थियो, त्यसबाट उनी धेरै दुःखी थिइन् ।’

द इन्टरनेशनल रेस्क्यु कमिटिले यस्तै सर्वेक्षण सन् २०१५ मा गरेको थियो । सो सर्वेक्षणमा १९० महिला र युवती सामेल थिए । रिपोर्टका अनुसार ४० प्रतिशत महिलाहरु राहतको बदलामा यौन हिंसाको सिकार भएका थिए । दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय भएको सर्वेक्षणको निश्कर्ष थियो । यी दुवै रिपोर्ट १५ जुलाई २०१५ मा संयुक्त राष्ट्र संघ जनसंख्या कोषको बैठकमा पेश गरिएको थियो । जोर्डनको राजधानी अम्मानमा भएको बैठकमा संयुत्तः राष्ट्र संघ र अन्तर्राष्ट्रिय संगठनले भाग लिएका थिए ।